विराटनगर । कोशी प्रदेशको मन्त्रीमण्डलमा थपिएकी झापाकी बन्दना झागर राज्यमन्त्रीको भूमिकामा छिन् । झागर समुदायबाटै पहिलो पटक उनी मन्त्री बनेकी हुन् ।
उनलाई पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिएको छ । कोशी प्रदेशमा बनेको १० सदस्यीय मन्त्रीमण्डलमा उनी पनि सामेल हुनुको मतलब अब उनले नीतिगत तहमा आफ्नो कुरा राख्नेछिन् । आफ्नो समुदायको हित अनुकूल निर्णय गराउन प्रयास गर्नेछिन् ।
शपथग्रहणलगत्तै उनलाई सुरक्षाकर्मीका उच्च पदस्थ कर्मचारीले सलाम हाने । उच्च पदस्थ कर्मचारीहरूले बधाई र शुभकामना दिए । शपथ सकिएलगत्तै उनको साथमा एक जना सुरक्षाकर्मी तैनाथ देखिए । चिल्लो गाडी उनका लागि तयार भयो । हिलो, मैलो र अपहेलित अल्पसङ्ख्यक तथा उत्पीडित समुदायबाट उनी मन्त्री बनिन् । उनका लागि यो नै सबैभन्दा गर्व र खुसीको कुरा थियो ।
शपथ सकिएपछि उनीसहित मन्त्रालयका नवनियुक्त मन्त्री नारायण बुर्जा मगरको टोली पर्यटन, वन तथा वातावरण मन्त्रालय पुग्यो । मन्त्रालयमा आयोजित सामान्य परिचयात्मक कार्यक्रममा विभागीय कर्मचारी तथा सामुदायिक वनका अभियन्ताको उपस्थिति थियो । त्यहाँ उनले कूटनीतिक शैलीमा मन्तव्य दिइन्, ‘मन्त्रालयको काम कारबाही कसरी सफल बनाउने भन्ने कुरा मन्त्रीको हातमा मात्रै हुँदैन । मन्त्रालयको सबै कर्मचारीसहित हामीले एक अर्कालाई सहयोग गरेर अगाडि बढ्यौँ भनेमात्रै लक्ष्यमा पुग्न सकिन्छ ।’
झापा, मोरङ र सुनसरीमा यो समुदायको बसोबास छ । ‘हाम्रो समुदायभित्र झागर, उराँव समुदाय छ । त्यसभित्र झागर खडिया समुदाय छ । म त्यो समुदायमा पर्छु । त्यो समुदाय अहिले झापा, मोरङ र सुनसरीमा ७ हजारजति छन्,’ उनले सुनाइन् ।
झागरका अनुसार उनी पहिलो पटक त्यो समुदायबाट मन्त्री बनेकी हुन् । ‘हामीले हिजोको जनयुद्धमा पनि यही कुरा उठाइरहेका थियौँ । उत्पीडित समुदायको मुक्तिको कुरा उठाइरहेका थियौँ, जुन समुदायबाट म पहिलो मन्त्री बनेको छु । म अत्यन्तै खुसी छु,’ उनले भनिन् ।
राज्यको नीतिगत तहमा बसेर काम गर्ने मौका पार्टीले दिएको भन्दै उनले आफ्नो समुदायको हितका लागि सकेजति काम गर्ने बताइन् । ‘हाम्रा हजुरबुबा, बुबाहरूसँग जानकारी लिँदै हाम्रो संस्कार, संस्कृति जोगाउन के गरेर जान सकिन्छ, म मन्त्रालय र प्रदेश सरकारबाट पहल गरेर अगाडि बढ्छु,’ उनले भनिन् ।
उनी २०६० सालमा माओवादीमा पूर्णकालीन कार्यकर्ता भएर भूमिगत भएकी थिइन् । ‘म लडाइँमा सहभागी भइन् । साङ्गठनिक जिम्मेवारीमा थिएँ,’ विगत कोट्याउँदा उनले भनिन् ।उनले विगतको जस्तो परिवेश अहिले नभएको र यस्तो हुनुमा आफूहरूले चलाएको आन्दोलनकै देन भएको बताइन् । अल्पसङ्ख्यक, दलित र उत्पीडित समुदायको मुक्ति गणतन्त्रमा, लोकतन्त्र, सङ्घीयता र समावेशीतामै भएको उनी बताउँछिन् । ‘हिजो हामी जुन परिवेशमा बसेका थियौँ, अहिले त्यस्तो छैन । त्यस्तो हुनुमा हामीले चलाएको आन्दोलन नै मुख्य हो । माओवादीले मभन्दा पनि अझै अल्पसङ्ख्यक समुदायबाट पनि सांसद बनाएको छ,’ उनले भनिन्, ‘त्यसकारण मुक्ति यहीँ छ । मुक्ति गणतन्त्रमा छ । मुक्ति सङ्घीय व्यवस्थामा र समावेशीतामा छ । यो कुरा हामीजस्ता समुदायले बुझ्नु पर्छ ।’
Discussion about this post