काठमाडौं । पशुपतिनाथ पुगेर मानिसहरूले श्रद्धाले भेटी चढाइरहेका हुन्छन्। हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथभित्र श्रद्धाले अर्पण गरेको भेटी नै चोरी हुने गरेको खुलेको छ। भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषकै कर्मचारीको संलग्नता पाइएको हो।
भेटी चोरीमा संलग्न रहेको आरोपमा सोमबार प्रहरी वृत्त गौशालाको टोलीले पशुपति विकास कोषका कर्मचारीसहित आठ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरूले दुई/तीन महिनादेखि भेटी चोरी गर्दै आएको बयान दिएका छन्।
पक्राउ परेकामध्ये तीन जना हाजिरी जमानीमा छुटेका छन्। भेटी संकलनको जिम्मा लिएका कोषका नायब सुब्बा नवराज ढोढारी, नवराज घिमिरे, बाजा बजाउने कर्मचारी अनिल परियार, कुमार परियार र सपटा कपाली भने हाल प्रहरी हिरासतमै छन्।
कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले अनिल परियारलाई भेटी संकलन गर्ने ठाउँमा काममा लगाएको पाइएको छ। परियारले नै उक्त बयान दिएका छन्। मान्छे नभएपछि कोषाध्यक्षले काम गर भनेको परियारले बताएका छन्।
भेटी आफूले चोरी नगर्ने भने पनि नवराज ढोढारीले चोरी गर्न लगाएको उनको बयान छ। दुई/तीन महिनादेखि चोरी गर्दै आएको र दैनिक १०/१२ हजार रुपैयाँ चोरी गर्ने गरेको परियारले स्वीकारेका छन्। त्यसरी चोरी गरे वापत आफूले कहिले हजार रुपैयाँ त कहिले पन्ध्र सय रुपैयाँ पाउँदै आएको उनको भनाइ छ।
चोरी गर्नका लागि ज्याकेट लगाउन भन्ने गरेको उनले बताए। पशुपतिमा भक्तजनहरूले चढाएको भेटी गन्ने क्रममा शंकास्पद गतिविधि देखिएपछि पशुपति क्षेत्र विकास कोषका कर्मचारीले प्रहरीलाई खबर गर्दा रहस्य खुलेको हो।
सोमबार साँझ संस्कृतिक संरक्षण महाशाखाको भेटी गणना कक्षामा पदाधिकारी, सुरक्षाकर्मीले भेटी गन्ने काम गरिरहँदा सिसिटिभीमा शंकास्पद गतिविधि देखिएपछि कोषका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। सिसिटीभीमा लुगाको आधारमा पहिचान गरेर एक व्यक्तिलाई सोधपुछ गर्दा उनको साथबाट रकम बरामद भएको बताइएको छ। प्रहरीले घटनाका विषयमा थप अनुसन्धान थालिएको जनाएको छ।
Discussion about this post