काठमाडौं – गत आर्थिक वर्ष २०७९/८० मा पाँच वटा पालिकाको बेरुजू शून्य देखिएको छ ।
महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको महाभारत, पाँचथरको याङवरक, ताप्लेजुङको पाथिभरा याङवरक, धादिङको बेनीघाट रोराङ र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजू शून्य देखिएको हो । कार्यालयका अनुसार सातै प्रदेशका सात सय ५३ पालिकामध्ये सात सय ४६ वटाको लेखापरीक्षण गरिएकोमा पाँच वटा पालिकामा तहका बेरुजू शून्य देखिएको हो ।
महाभारत गाउँपालिकामा गएको आर्थिक वर्षमा एक अर्ब २५ करोड ४४ लाख रुपैयाँको लेखापरीक्षण भएको थियो । यस्तै याङवरकमा एक अर्ब १५ करोड ६१ लाख, पाथिभरा याङवरकमा ९८ करोड ७१ लाख, बेनीघाट रोराङमा एक अर्ब ३५ करोड २५ लाख र कोन्ज्यसोम गाउँपालिकामा ८५ करोड ७३ लाख रुपैयाँको लेखापरीक्षण भएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार गएको वर्ष ९५ अर्बभन्दा धेरै थपिएर सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । कुल लेखापरीक्षणको १ दशमलव २ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
रीत नपुर्याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, अनियमिता तथा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको तथा लेखापरीक्षण गर्दा देखिएका कमजोरीलाई बेरुजु रकम भनिन्छ । महालेखा कार्यालयका अनुसार सबै बेरुजु भ्रष्टाचारभित्र पर्दैनन्, बेरुजु रकमभित्र भ्रष्टाचार भने भएको हुन सक्छ ।
Discussion about this post