सुनसरी । सुनसरी लगायत देशभरका स्थानीय तहमा एकसाथ नागरिकका दैनिक जीवनयापनसँग सम्बन्धितदेखि स्थानीय स्तरका विकास निर्माणका कार्यको सहजीकरण स्थानीय सरकारले गर्ने गरेका छन् । स्थानीय सडक निर्माण, धारो तथा पधेरो स्तरोन्नति, गाई तथा भैँसीको गोठ सुधार हुँदै जन्मदेखि मृत्यु दर्तासमेत स्थानीय सरकारको जिम्मेवारीभित्र पर्ने काम हुन् ।
अर्थात्, स्थानीय सरकार भनेको नागरिकको दैनिक जीवनयापनसँग सम्बन्धित सबै विषयको कार्य गर्न संविधानले अधिकार दिएको नागरिकको सबैभन्दा नजिकको सरकार हो । नागरिकका आवश्यकता सम्बोधन गर्न सरकारले वार्षिक बजेटबाट कार्यक्रम ल्याउने गर्छ ।
संविधानको व्यवस्था अनुसार सङ्घीय सरकारले जेठ १५ गते अर्को आर्थिक वर्षको लागि बजेट ल्याउँछ । प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गतेभित्र बजेट ल्याउनु पर्छ । सङ्घीय सरकार बजेट सार्वजनिक गर्ने अन्तिम तयारीमा छ भने प्रदेश र स्थानीय सरकार पनि बजेट निर्माणलाई फाइनल टच दिने गृहकार्यमा छन् ।
नागरिकका सानातिना तर अति आवश्यकका कार्य स्थानीय सरकारले ल्याउने बजेटले समेट्ने गर्छ । त्यसैले हामीले यो आलेखमा स्थानीय सरकारले कसरी बजेट ल्याउँछ र तपाईंको गाउँ टोलमा स्थानीय सरकारको बजेटमा समावेश हुने आयोजना कसरी पार्न सकिन्छ भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौँ ।
राष्ट्रिय योजना आयोगले ‘स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन’ तयार पारेको छ । सो दिग्दर्शन अनुसार स्थानीय तहले बजेट निर्माणमा ७ चरण पूरा गर्नुपर्छ । यी चरणमा नागरिकको सहभागितामा योजना तर्जुमादेखि बजेट पुस्तिका छपाइसम्मको कार्य पूरा हुन्छ ।
Discussion about this post