इनरुवा । श्रोत नखुलेको १ करोड १ लाख रुपैयाँको नगद नोट लिएर हिँडिरहेको अवस्थामा शनिवार राती सुनसरीको हरिनगर–५ स्थित दुर्गा मन्दिर छेउबाट एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिनगर–५ का ३७ वर्षीय ईसा अन्सारी रहेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका हुन् । उनका अनुसार उक्त रकम अवैध हुन्डी कारोबारीहरूको हुनसक्ने आशंकामा नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त रकम बरामद भएको सह प्रवक्ता थापाले बताए ।
बरामद रकम १ हजार दरको नोट ९ हजार ७ सय थान ९९७ लाख र ५ सय दरको ८ सय थान ९४ लाख रहेको छ ।
थापाले भने, ‘प्रारम्भिक सोधपुछमा अन्सारीले उक्त रकमको स्रोत खुलाउन सकेनन् ।’ नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको उनले बताए ।
यसअघि पनि अन्सारी नक्कली नोटको कारोवारको अभियोगमा पक्राउ परेका थिए । मोरङको बिराटनगर महानगरपालिका–६ भाटभटेनी सुपरमार्केटबाट ५ सय दरको ७ थान र २ सय दरको २० थान नक्कली भारतीय नोटसहित २०८० असोज १३ गते दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
उक्त सुपरमार्केटबाट १ हजार ६ सय बराबरको बिभिन्न सामान खरिद गरी अन्सारीले नक्कली भारतीय नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नोट र उनले प्रयोग गरेको बा.१६ च ७६१३ नम्बरको कारसहित पक्राउ गरेको थियो । उनलाई मुद्रा सम्बन्धी कसुरमा मोरङ प्रहरीले मुद्दा चलाएको थियो ।
यसअघि पक्राउ पर्दाको कार र यसपटक पक्राउ पर्दाको उनको कार दुबै एउटै रहेकोले थियो । भाटभटेनीबाट पक्राउ पर्दा उनी सामान्य अनुसन्धानबाटै केही दिनमात्रै हिरासतमा बसेर छुटेको प्रहरी स्रोतले जनाएको छ ।
उनी घुस्कीमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका छन भने स्थानीय स्तरमै सहकारी र मनि ट्रान्सफरको ब्यवसायसमेत गर्दै आएको बताइन्छ ।
Discussion about this post