इनरुवा – सुनसरीको दुहबी-मोरङ्ग उद्योग करिडोरमा सञ्चालित उद्योगहरूको प्रदूषणले स्थानीय बासिन्दाहरूको दैनिकी कष्टकर बनेको छ। उद्योगहरूले वातावरणीय मापदण्ड पालना नगर्दा स्थानीय बासिन्दाहरू स्वास्थ्य समस्यासँग जुध्न बाध्य भएका छन्।
दुहबी ८ स्थित जाजु ग्रुपको एसियन थाईफुड रमपम चाउचाउ उद्योग, शारडा ग्रुपको स्वदेशी खाद्य तेल उद्योग, डोलफिन चप्पल उद्योग, र मुरारका ग्रुपको पशुपति आइरन एण्ड स्टिल, मैनाबती स्टिल, र एसियन बिस्कुट उद्योगले उत्सर्जन गर्ने धुवा, धुलो र अन्य प्रदूषणले स्थानीय बासिन्दाहरूको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ। स्थानीय बासिन्दा सीता मण्डलले प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या बढेको बताए।
स्वास्थ्यकर्मी आषिश यादवका अनुसार उद्योगबाट निस्कने धुलो र धुवाँले फोक्सो, रुघाखोकी, आँखा पोल्ने, आँखाको रोग लगायतका स्वास्थ्य समस्या निम्त्याएको छ। दुहबीस्थित आँखाका चिकित्सक राजेश यादवले पनि उद्योगबाट निस्कने छाई र धुलोले आँखाको समस्या बढाएको जानकारी दिएको छ।
कोशी राजमार्ग छेउमा रहेको जाजु ग्रुपको एसियन थाईफुड रमपम चाउचाउ उद्योगले उत्सर्जन गर्ने प्रदूषित पानी र ध्वनि प्रदूषणका कारण स्थानीयको दैनिकी नै प्रभावित भएको छ। सोनापुर, फुटानिचोक, बसन्तपुर, सुभद्रा चोक, कदमगाछी चोक लगायतका क्षेत्रमा प्रदूषणका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित बनेका छन्।
स्थानीय बासिन्दाहरूले उद्योगबाट निस्कने कालो धुलो, धुवाँ, र प्रदूषित पानीका कारण आफ्नो स्वास्थ्यमा गम्भीर असर परेको बताउँदै आएका छन्। प्रदूषणकै विषयलाई लिएर उद्योग सञ्चालक र स्थानीयबीच बारम्बार विवाद भइरहे पनि उद्योगहरूले प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालेका छैनन्।
दुहबीका उपप्रमुख मेनुका पोखरेल खतिवडाले उद्योगहरूले मापदण्ड अनुसार प्लान्ट सञ्चालन नगर्दा प्रदूषणको समस्या जटिल बन्दै गएको र यसका लागि माथिल्लो निकायमा पत्राचार गरिएको जानकारी दिएकी छन् ।
यसअघि चार वर्षअघि पनि इटहरी १३ खनारमा रहेको अरिहन्त अटो कोर्गेसन उद्योगको प्रदूषणका कारण स्थानीयले विरोध प्रदर्शन गर्दा प्रहरीसँग झडपसमेत भएको थियो। प्रदूषणबाट दीर्घकालीन असर खेपिरहेका स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायमा बारम्बार गुहार माग्दा पनि कुनै समाधान नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
फुटानिचोकका स्थानीय बिबेक साहले हावा चलेको बेला कोठाका ढोका-झ्याल बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ, जसले गर्दा जनजीवन थप कठिन बन्दै गएको छ। स्थानीयहरूले तत्काल प्रदूषण नियन्त्रणको माग गर्दै आन्दोलित बन्ने चेतावनी दिएका छन्।










Discussion about this post