वीरगन्ज – सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगन्जमा तीनवटा गोदामसहित विभिन्न स्थानहरूमा छापा मार्दै २० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
वीरगन्ज महानगरपालिका-१६, नगवा इलाकामा भाद्र २२ गते, करीब ७ लाख ८० हजार ४ सय ३० रुपैयाँ बराबरका विभिन्न सामग्रीहरू फेला परेको थियो। यी सामानहरू भारतबाट अवैध रूपमा भित्र्याएर खुश्बु चकलेट उद्योगको गोदाममा लुकाएर राखिएको पाइएको छ। बरामद सामग्रीहरूमा ३ लाख ६ हजार ६ सय ३० रुपैयाँको चकलेट, चिनी, र बोरा सिलाउने तथा जोख्ने मेसिनहरू समावेश थिए।
सोही क्षेत्रमा रहेको अर्को घरमा लुकाएर राखिएका ४ लाख ७३ हजार ८ सय रुपैयाँका काजु, खजुर, बदाम, विस्कुट, अजिर, र किसमिस समेत बरामद भएका छन्। यो अपरेशन वीरगन्ज भन्सार कार्यालय र सीमा सुरक्षा गुल्म वीरगन्जको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सफलतापूर्वक सम्पन्न गरेको हो।
यसैगरी, महानगरपालिका-८, मिनाबजारस्थित पारस प्रसाद एण्ड राजेश कुमार सप्लायर्सको गोदामबाट २ लाख ७० हजार १ सय ७० रुपैयाँको आलु र प्याज पनि प्रहरीले फेला पारेको छ।
भाद्र २३ गते, महानगरपालिका-१०, आदर्शनगरबाट ९ लाख ४५ हजार ६ सय रुपैयाँ बराबरका काजु, मरिच, र टेम्पोसहित एक जना युवकलाई नियन्त्रणमा लिइएको छ। टेम्पो (ना २ ह ५९६) मा लोड गरिएका यी सामानसहित बारा जिल्लाको विश्रामपुर गाउँपालिका-२, बैरैनियाका २५ वर्षीय बिनोद कुश्वाहालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको नेतृत्वमा यस क्षेत्रका गोदामहरूमा यसअघि पनि करोडौँ रुपैयाँ बराबरका अवैध सामग्रीहरू बरामद गरिएको थियो। नियन्त्रणमा लिइएको टेम्पो र बरामद सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
Discussion about this post