इनरुवा – सशस्त्र प्रहरी बल (BOP) लाैकहीले धरानका तीन युवालाई लागुऔषधसहित पक्राउ गरेको छ। सीमा क्षेत्रमा लागुऔषध ओसारपसारमा बढ्दो गतिविधि भएपछि, BOP लाैकहीका प्रमुख सप्रनी आवेश पुनको नेतृत्वमा खटिएको टोलीले विशेष चेकजाँच अभियान सञ्चालन गर्दै धरान-१५ निवासी २६ वर्षीय सुवास लिम्बु, २८ वर्षीय राजु गुरुङ्ग, र २२ वर्षीय जोन बि.क.लाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, चेकजाँचको क्रममा सुवास र राजु स्कुटरमा सवार थिए भने जोन पल्सर मोटरसाइकलमा थिए। स्कुटरमा लुकाइएको २४.४२ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र पल्सर मोटरसाइकलबाट १.२७ ग्राम खैरो पदार्थसहित १.०१ ग्राम ICE Drugs (Methamphetamine) जस्तो देखिने सेतो पदार्थ बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल नम्बर ४ गण हेडक्वाटर, सुनसरीका अनुसार, यो सफल कारबाहीमा बिओपी प्रमुख आवेश पुनको सक्रिय भुमिका रहेको छ। पुनको निर्देशनमा सञ्चालन गरिएको विशेष चेकजाँच अभियानले शङ्कास्पद गतिविधिहरूलाई निगरानी गर्दै लागुऔषध ओसारपसारको रोकथाममा महत्वपूर्ण सफलता हासिल गरेको हो। पुनले सीमा क्षेत्रमा सुरक्षालाई कडाइ गर्दै लागुऔषध कारोबारलाई जरा तहमै निर्मूल पार्न आवश्यक पहल र कडाइ गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्।
पछिल्ला केही महिनाहरूमा लागुऔषध ओसारपसारका घटनामा वृद्धि देखिएपछि सुरक्षाकर्मीले सीमा क्षेत्रमा निगरानी थप कडा बनाएको छ। पुनको नेतृत्वमा सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रका आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न प्रभावकारी कदम चालेको छ। स्थानीयहरूले पनि बिओपी प्रमुख पुनको नेतृत्वमा गरिएको यस कारबाहीको प्रशंसा गर्दै, लागुऔषध नियन्त्रणमा राज्य र स्थानीय तहले संयुक्त रूपमा काम गर्नुपर्ने औंल्याएका छन्।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ, भने यस घटनालाई गम्भीरताका साथ हेरिँदै छ।
Discussion about this post