इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. २, अकाहामा रहेको स्वास्थ्य चौकीमा नवनिर्मित प्रसूति गृह (बर्थिङ्ग सेन्टर) को भवन सोमबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। उक्त भवन सेभ द अर्थ सुनसरी, करुणा फाउन्डेसन, र भोक्राहा नरसिंह गाउँपालिकाको लागत साझेदारीमा निर्माण भएको हो।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले सो भवनको उद्घाटन गरेका थिए। कार्यक्रममा उपाध्यक्ष सुनिता कुमारी उराँव, इनरुवा नगरपालिकाकी उपाध्यक्ष विनिता मेहता, कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादव, वडा नम्बर २ का अध्यक्ष आलम अन्सारी, शिक्षक पवन कुमार मेहता, स्वास्थ्य चौकीका कर्मचारी, स्थानीय जनप्रतिनिधिहरू, र समाजसेवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष अजमल अख्तर आजादले बर्थिङ्ग सेन्टरको महत्वलाई जोड दिँदै भने, ” प्रसूति गृह निर्माणले हाम्रो गाउँमा सुरक्षित मातृत्व सेवाको पहुँचलाई सुनिश्चित गरेको छ। अब हाम्रा महिलाहरूले आफ्नो गाउँमै सुरक्षित र गुणस्तरीय प्रसूति सेवा लिन सक्नेछन्। यसले मातृ मृत्युदर घटाउनका साथै नवजात शिशुहरूको स्वास्थ्यमा समेत ठूलो सुधार ल्याउनेछ।”
अध्यक्ष आजादले भवन निर्माणका लागि सेभ द अर्थ सुनसरी र करुणा फाउन्डेसनलाई विशेष धन्यवाद दिंदै, आगामी दिनमा स्वास्थ्य सेवामा अझ सुधार ल्याउन गाउँपालिकाले ठोस योजना अघि सारेको बताए। उनले भने, “हाम्रो प्राथमिकता नागरिकको स्वास्थ्य हो, र यो बर्थिङ्ग सेन्टरले हामीलाई गुणस्तरीय सेवा प्रदान गर्न थप बलियो बनाएको छ।”
कार्यक्रमको अन्त्यमा अध्यक्ष आजादले गाउँका नागरिकलाई यस नयाँ प्रसूति गृहको सेवा उपयोग गर्न आह्वान गर्दै भने, “यो केन्द्र हाम्रो गाउँको गर्व हो, र यसले यहाँका हरेक नागरिकलाई सुरक्षित स्वास्थ्य सेवा प्रदान गर्नेछ।”
Discussion about this post