दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले बाढी प्रभावित क्षेत्रहरूको अनुगमनमा निरन्तर खटिँदै बस्तीबस्ती पुग्नुभएको छ। वर्षातका कारण बाढीले गाउँपालिकाका विभिन्न क्षेत्रहरूमा गम्भीर असर पु-याइरहेको अवस्थामा अध्यक्ष आजाद बिहानैदेखि उद्धार र राहतका कार्यहरूमा सक्रिय रूपमा सहभागी हुनु भएको हो।
बस्तीहरूको प्रत्यक्ष निरीक्षण
गाउँपालिकाका वडा नम्बर १, ४, ५, र ७ मा रहेका मुसहरी टोल, टपरा टोल, राम टोल (चमराही टोल), मण्डल टोल, र खत्वे टोलहरू बाढीले अत्यधिक प्रभावित भएका क्षेत्रहरू हुन्। अध्यक्ष आजादले यी बस्तीहरूको प्रत्यक्ष निरीक्षण गर्दै बाढीले प्रभावित भएका परिवारहरूको अवस्था बुझ्नुभएको छ। स्थानीय लुकमान अन्सारीका अनुसार वडा नम्बर ६ र ८ का केही वस्तीहरू पनि आंशिक रूपमा बाढीको चपेटामा परेका छन्।
बाढी नियन्त्रण र उद्धारका लागि तत्काल उपाय
जनधनको सुरक्षाका लागि अध्यक्ष आजादले राहत र पुनर्स्थापनाका कार्यक्रमहरू तुरुन्तै सञ्चालन गर्न निर्देशन दिनुभएको छ। उहाँले भन्नुभयो, “बाढीले पु-याएको क्षति गम्भीर छ। हामी यस विपद्को समयमा बाढी प्रभावित जनतालाई सक्दो मद्दत गर्न जुटेका छौं। तत्काल पालिकाका स्रोतसाधनहरू परिचालन गरेर राहत कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ।”
अध्यक्ष आजादले बाढी रोकथामका उपायहरूको निरीक्षण गर्दै जनताको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। उहाँको नेतृत्वमा स्थानीय प्रशासन, सुरक्षाकर्मी, र अन्य जनप्रतिनिधिहरू पनि बाढी नियन्त्रण र राहत कार्यमा संलग्न छन्।यता पालिका अध्यक्ष अध्यक्ष आजादले बाढी प्रभावित क्षेत्रमा आफ्नो व्यक्तिगत जोखिम मोलेर खटिरहनु भएको छ भने अन्य राजनीतिक दलका प्रतिनिधिहरू भने बाढीको संकटमा आफ्ना घरमा सुरक्षित बसेका छन् भन्ने स्थानीयहरूको गुनासो रहेको छ। यस्तो अवस्थामा अध्यक्ष आजादको सक्रियता र समर्पणले बाढी प्रभावित जनताको मनोबल उच्च बनाएको छ।त्यस्तै बाढीका कारण घरबारविहीन भएका परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र उनीहरूको दैनिक आवश्यकताका लागि खाद्यान्न, लत्ताकपडा, र अन्य आवश्यक वस्तुहरू वितरण गर्ने योजना अध्यक्ष आजादको नेतृत्वमा अघि बढाइएको छ। उहाँले भन्नुभयो, “हालकाे कठिन समयमा सबैको एकताले मात्र यो संकट पार गर्न सकिन्छ।”
अध्यक्ष आजादको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारका कार्यहरूलाई तीव्रता दिएकाे भाेक्राहा नरसिंह वडा नम्बर ७ का वडाध्यक्ष बाैवालाल यादवले बताएका हुन् ।
Discussion about this post