दिपेन्द्र यादव/सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव पाँच लाख क्युसेकभन्दा माथि पुगेपछि कोशी ब्यारेज नियन्त्रण कक्षले ‘रेड अलर्ट’ जारी गरेको छ। शनिबार दिउँसो २ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव पाँच लाख २१ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको जानकारी आएको छ। अत्यधिक पानीको बहावले कोशी ब्यारेजका सबै ५६ ढोका खुला गरिएको छ, जसले गर्दा तल्लो तटीय क्षेत्रहरूमा बाढीको उच्च जोखिम बढेको छ।
त्यस्तै कोशी प्रदेशका सुनसरी, सप्तरी र उदयपुर जिल्लाहरूमा बाढीको जोखिम बढ्न थालेको छ। विशेष गरी कोशी नदी किनारका गाउँहरूमा जनजीवन प्रभावित हुने खतरा छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा सर्न र सतर्क रहन आग्रह गरेको छ। कोशी नदीको आसपासका बस्तीहरूमा बाढी पसेर ठूलो क्षति पुग्नसक्ने भन्दै सरकारले संभावित जोखिम क्षेत्रका बासिन्दाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
यता सशस्त्र प्रहरी बल नेपालका टोलीहरूलाई कोशी ब्यारेज र आसपासका क्षेत्रमा तैनाथ गरिएको छ। उनीहरूले नदीको पानीको बहाव अनुगमन गरिरहेका छन् र सम्भावित विपत्तिबाट जनतालाई जोगाउन उद्धार सामग्रीसहित तयारी अवस्थामा छन्। कोशी ब्यारेजमा थप पानीको बहाव भएमा बाढीले ठूलो क्षति पुर्याउन सक्ने भएकाले सुरक्षाकर्मीहरूलाई सजग रहन निर्देशन दिइएको छ।
उता समाजिक सञ्जालमा बाढीको त्रासको बारेमा पोस्टहरू व्यापक रूपमा भाइरल भइरहेका छन्। स्थानीयहरू ट्विटर, फेसबुक, र अन्य प्लेटफर्ममा जलस्तरबारे जानकारी आदानप्रदान गरिरहेका छन्। एक फेसबुक पोस्टमा स्थानीयले भने, “कोशीको पानी अनियन्त्रित रूपमा बढ्दैछ, स्थानीयहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिन्छ।” धेरैले सामाजिक सञ्जालमार्फत जोखिम क्षेत्रका बासिन्दालाई सचेत हुन र बाढीको प्रतिकूल अवस्थाबाट जोगिन आवश्यक कदम चाल्न सल्लाह दिएका छन्।
बाढीको त्रासले घरका सामान सुरक्षित स्थानमा सार्ने कार्यले गति लिइरहेको छ भने कतिपयले सुरक्षित स्थानमा विस्थापित हुन तयारी गरिरहेका छन्।
Discussion about this post