धरान – बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) धरानमा स्टाफ नर्स भर्ना प्रक्रियामा आर्थिक अनियमितता र अपारदर्शी प्रक्रियासम्बन्धी गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। प्रतिष्ठानले योग्यतामा आधारित प्रतिस्पर्धात्मक प्रक्रिया भएको दाबी गरे पनि प्रशिक्षार्थीहरूले भर्नामा लाखौं रुपैयाँको लेनदेन भएको खुलासा गरेका छन्।
प्रशिक्षार्थीहरूका अनुसार, भर्ना प्रक्रियामा योग्य र दक्ष उम्मेदवारहरूलाई बेवास्ता गर्दै आर्थिक पहुँच भएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ। एक प्रशिक्षार्थीले नाम नखुलाउने सर्तमा भने, “सामान्य प्रतिस्पर्धी प्रक्रिया भन्दा आर्थिक चलखेलले नै छनोट प्रक्रिया निर्धारण गरेको देखिन्छ।”
BPKIHS को आधिकारिक वेबसाइटमार्फत विभिन्न स्वास्थ्य सेवाका पदहरूमा नियुक्तिका लागि स्टाफ नर्स भर्ना विज्ञापन प्रकाशित गरिएको थियो। आवेदनका लागि आवश्यक शैक्षिक योग्यता, परीक्षा प्रणाली, र भर्ना प्रक्रियाको चरणबद्ध विवरण विज्ञापनमा समावेश गरिएको थियो। तर प्रशिक्षार्थीहरूका अनुसार, आवेदन प्रक्रियाको अन्तिम चरणमा आर्थिक लेनदेन भएको र ठूला रकम बुझाउने उम्मेदवारहरूलाई मात्र अन्तिम सूचीमा समावेश गरिएको दाबी गरिएको छ।
यता एक प्रशिक्षार्थीले भने, “हामीले पारदर्शी प्रक्रिया हुने आशा गरेका थियौं, तर अन्तिम नतिजाले हामीलाई निराश बनायो। योग्य भएर पनि असफल हुनु अन्याय हो। नतिजाको पारदर्शितामा शंका लाग्नु स्वाभाविक छ, किनकि आर्थिक लेनदेनको खबर सबै ठाउँमा फैलिएको छ।”
त्यस्तै हालसम्म प्रतिष्ठान प्रशासनले भने यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। अनियमितताको विषयमा सञ्चारमाध्यमहरूले खबर सम्प्रेषण गरे पनि, प्रशासनको मौनताले प्रशिक्षार्थीहरू थप निराश बनेका छन्। सम्बन्धित निकायको मौनताले जनस्तरमा असन्तुष्टि बढाएको छ।
प्रशिक्षार्थीहरूले संस्थामा भएको अपारदर्शी प्रक्रिया र आर्थिक चलखेलको विरोध गर्दै आएका छन्। उनीहरूले पारदर्शी छानबिनको माग गर्दै सम्बन्धित अधिकारीहरूलाई ज्ञापनपत्र बुझाएका छन्। “हाम्रो माग स्पष्ट छ: भर्ना प्रक्रिया निष्पक्ष र योग्यतामा आधारित हुनुपर्छ,” एक प्रशिक्षार्थीले बताए।
यता यस प्रकरणले राष्ट्रिय तहमा पनि व्यापक चासो र असन्तुष्टि पैदा गरेको छ। स्वास्थ्य क्षेत्रका भर्ती प्रक्रियामा यस्ता अनियमितताले सार्वजनिक स्वास्थ्य प्रणालीप्रतिको विश्वासमा गम्भीर धक्का दिएको छ। प्रशिक्षार्थीहरूले छानबिन गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।
अब यस प्रकरणको सत्यतथ्य पत्ता लगाएर निष्पक्ष निर्णय गर्न प्रतिष्ठानले गहिरो अनुसन्धान अघि बढाउनुपर्ने देखिन्छ।
Discussion about this post