बिराटनगर – मोरङको बिराटनगर बसपार्कमा यात्रु सहायता कक्षको उद्घाटन भएको छ। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित बनाउन असोज १५ गते उक्त कक्षको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै डीआईजी खापुङले चाडपर्वका समयमा यात्रुहरूको भीड हुने भएकाले सुरक्षालाई थप सुदृढ बनाउन प्रहरीको व्यापक परिचालन गरिएको बताए। यात्रुको सुरक्षा सुनिश्चित गर्न बसपार्कमा सहायता कक्षहरू स्थापना गरिएको जानकारी दिए।
उनले चाडपर्वलाई सुरक्षित र सुखद बनाउन यातायात व्यवसायी, मजदुर लगायत सबै पक्षको सहकार्य आवश्यक रहेको पनि बताए। यसैक्रममा, १४ वटै जिल्लाका प्रमुख बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिने छ।
उद्घाटन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहल, अन्य प्रहरी अधिकारी, स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी, मजदुर र सञ्चारकर्मीहरूको उपस्थिति थियो।
कोशी प्रदेशका विभिन्न स्थानमा पहिलो दिनमै ३७ वटा यात्रु सहायता कक्ष स्थापना भएका छन्। यात्रामा कुनै असहज स्थिति भएमा यात्रुहरूले नजिकको सहायता कक्ष वा प्रहरी हटलाइन नम्बर १००/ट्राफिक हटलाइन १०३ मा सम्पर्क गर्न सूचित गरिएको छ।
Discussion about this post