दिपेन्द्र यादव/इनरुवा । सुनसरीका प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका एसपी सुमनकुमार तिम्सिनालाई हिन्दु स्वयंसेवक संघले स्वागत गरेको छ। भारतसँग खुला सीमा जोडिएको सुनसरी शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानका हिसाबले चुनौतीपूर्ण जिल्ला मानिन्छ। कोशी ब्यारेजदेखि केसलिया खोलासम्म भारतसँग ६२ किलोमिटर खुला सीमा जोडिएको यो क्षेत्रमा अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीलाई कठिनाइ हुँदै आएको छ।
सुनसरीमा विभिन्न समुदायबीचको विवाद, चोरी, तस्करीलगायत अपराधको नियन्त्रणका लागि तिम्सिनालाई नयाँ चुनौतीहरूको सामना गर्नु पर्ने देखिएको छ। उनी आइतबार सुनसरी जिल्ला प्रहरी कार्यालयमा हाजिर हुँदै कार्यभार सम्हाल्ने तयारीमा छन्। प्रहरीभित्र कर्तव्यनिष्ठ, इमान्दार र निष्ठावान अधिकृतका रूपमा ख्याति कमाएका तिम्सिनाले नागरिक-प्रहरी सम्बन्धलाई थप सुधार गर्ने तथा शान्ति सुरक्षामा सुदृढता ल्याउने लक्ष्य लिएको बताएका छन्।
सुनसरीका पूर्व प्रहरी प्रमुख एसपी विपिन रेग्मीको स्थानमा तिम्सिनालाई पठाइएको हो। तिम्सिनाले आफूले पुराना मुद्दाहरूको फछ्र्यौट गर्न, सीमा अपराध नियन्त्रणमा ध्यान दिन, लागुऔषध ओसारपसार तथा हतियार तस्करी नियन्त्रण गर्न, र भारतीय पक्षसँग समन्वय गरेर सुरक्षा मजबुत बनाउनेमा आफू प्रतिबद्ध रहेको बताए।
यसअघि तिम्सिना कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थिए। उनले नेपाल प्रहरीभित्र विभिन्न महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालिसकेका छन्।
Discussion about this post