याे लगभग ५८/५९ सालतिरको कुरा हो, जब बिराटनगरको एउटा प्रतिष्ठित कलेजमा रेया आफ्नो स्नातक अध्ययन गर्दै थिई। ऊ सरल स्वभावकी थिई, संसारप्रति अनभिज्ञ तर जीवनसँगै बग्न चाहने। कलेजको पहिलो वर्षमा उसको भेट एकजना केटासँग भयो। दुवैजनाबीचको मित्रता बिस्तारै प्रेममा परिणत भयो। त्यो प्रेम त्यस्तो थियो, जसमा कुनै योजना थिएन, बस अन्जानमै भएको थियो। उनीहरूको प्रेम कथा दुई वर्षसम्म अपूर्व मिठासमा रमायो।
समय बित्दै जाँदा उनीहरूको सम्बन्धमा केही ठहराव आयो। जीवनको अन्याय र जिम्मेवारीले गर्दा उनीहरूले आफ्नो व्यक्तिगत निर्णय गर्न सकेनन्। रेयाको घरमा विवाहको कुरा उठ्न थाल्यो। त्यो समयमा रेया र उसको प्रेमीले आफूलाई परिपक्व मानेका थिएनन्। दुवैजना अलमलिएका थिए, अन्तत: उनीहरूले अलग निर्णय गरे— आफ्नो आफ्नो बाटो रोज्न बाध्य भए। रेयाले अर्को व्यक्तिसँग विवाह गरिन्, अनि उसको प्रेमीले पनि अर्की केटीलाई रोज्यो।
विवाहपछि दुवैको आ-आफ्नो परिवार बन्यो, र उनीहरू संसारका फरक-फरक गलीहरूमा रमाउन थाले। झन्डै १९ वर्ष बितिसक्दा पनि उनीहरू एकअर्कालाई देखेनन्, कुनै सम्बन्ध रहन पाएन। तर भाग्यले फेरि फेसबुकमार्फत उनीहरूको बाटो जुधाइदियो। पहिलोपटक भएको यो डिजिटल भेटले पुरानो स्मृतिहरूलाई ताजा गराइदियो। बिस्तारै, उनीहरूको कुराकानी पुनः सुरु भयो र त्यो पुरानै मिठासले भरिएको थियो।
तर यो नयाँ नजिकाइले रेयाको मनमा ठूलो द्वन्द्व पैदा गर्यो। उसको मनमा त्रास र डरको मिश्रणले घेरिन थाल्यो। अब न उनीहरू टाढा रहन सक्थे, न त सहजै नजिक हुन। घरबार र परिवारको चिन्ता, समाजको डर, सबै कुराले रेयाको मनलाई थिचिरह्यो। उसले सोच्न थाली— “के यो माया जीवनमा कहिल्यै पुरानो हुन सक्छ?”
अब रेया छोराछोरीको शिक्षाका लागि घर छोडेर बाहिर सहरमा बसिरहेकी थिइन्। उनले सबैलाई भनेर बिराटनगरमा एक नयाँ सुरुवात गरेकी थिइन्। तर, अचम्म त यो भयो कि उसको पुरानो प्रेमी पनि त्यही सहरमा बसेको रहेछ, जुन कुरा उसलाई थाहा थिएन। यदि थाहा भएको भए, सायद रेया त्यहाँ नजाने थिई। फेरि भाग्यले नै उनीहरूलाई नजिक ल्याइदियो।
अहिले उनीहरू २–४ दिनमा भेट्न थालेका छन्, पुरानै कथा र मिठास गफहरू सुस्तरी फर्किरहेको छ। तर, बाहिर घुम्न जान भने अप्ठ्यारो लाग्छ। “कतै कसैले चिन्छ कि?” “कतै घरमा खबर पुग्छ कि?” भनेर डराइरहेकी छिन् रेया। उनीहरूको यो सम्बन्ध अगाडि बढ्न त चाहन्छ, तर मनको कुनै कुनामा एउटा ठूलो डरले पर्खाल ठड्याइरहेको छ।
हप्तौंसम्म भेट नभए पनि म्यासेज र फोनले उनीहरूको नजिकाइलाई बचाइराखेको छ। तर, मनमा बिझाइरहने छट्पटी भने ताजै छ। रेयाले सोच्छिन्— “के उमेरले माया मेट्न सक्छ? के जिम्मेवारीको चापले प्रेमलाई पुरानो बनाउन सक्छ?”
यो उमेरमा आएर यस्तो कुरा लेख्दा र सुनाउँदा रेयालाई आफैं असजिलो लाग्छ। तर, आफ्नो मनको कुरा गुम्साएर बस्न पनि असम्भव भएको छ। आखिर माया त्यो शक्ति हो, जसलाई रोक्न नसकिने रहेछ।
(कथाको पात्र र घटनाहरू पूर्णत: काल्पनिक हुन् )
Discussion about this post