दिपेन्द्र यादव/इनरुवा । सुनसरी जिल्लामा दशैँको आगमनसँगै खसीबोकाको व्यापारले तीव्रता पाएको छ। विशेष गरी, मन्दिरहरूमा चढाउन र भाकल पूरा गर्न स्थानीयवासीहरू खसीबोका किन्न व्यस्त देखिएका छन्। जिल्लाका प्रमुख मन्दिरहरूमा खसीबोका चढाएर वली दिने पुरानो परम्परा अझै पनि उत्साहपूर्वक पालन हुँदै आएको छ।
सुनसरीका प्रमुख धार्मिक स्थलहरू इटहरीको पिण्डेश्वरी मन्दिर, धरानको दन्तकाली मन्दिर, दुहबीको दुर्गा मन्दिर, हरिनगरा गाउँपालिकाको जोगिनियाँ माई मन्दिर र इनरुवाको वबियामा रहेको भगवती मन्दिरमा खसीबोकाको वली दिने चलन रहेको छ। दशैँको अवसरमा यी मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लाग्दैछ, जसमा उनीहरूले देवीलाई खसीबोका चढाएर आफ्नो भाकल पूरा गर्दै आएका छन्।
खसीबोकाको माग बढेसँगै सुनसरीका बजारहरूमा यसको व्यापार फस्टाउँदै गएको छ। इटहरी, धरान, दुहबी, इनरुवा, र भण्टाबारीका बजारहरूमा खसीबोकाको किनबेचले स्थानीय किसानहरूलाई राम्रो आम्दानीको अवसर मिलेको छ। यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको छ भने जिल्लाको दशैँको वातावरणलाई थप उत्साहजनक बनाएको छ।
दशैँमा खसीबोका चढाउने परम्परा धार्मिक विश्वास र संस्कारसँग गहिरो सम्बन्ध राख्दै आएको छ। देवी दुर्गाको पूजा गर्दै भक्तजनहरूले आफ्नो परिवारको कल्याणका लागि देवीलाई प्रसन्न पार्न वली दिने परम्परालाई निरन्तरता दिइरहेका छन्।
Discussion about this post