अजितकुमार झा/इनरुवा । शनिबारको अविरल वर्षासँगै आएको बाढीले देशभर नै कहर मच्चाइरहेको बेला सुनसरी सदरमुकाम इनरुवा पनि अछुतो रहन सकेन। इनरुवाको ३, ४, ९, र १० नम्बर वडामा करिब २०० भन्दा बढी परिवार पूर्णरूपमा प्रभावित भएका छन्, भने नगरपालिका क्षेत्रभित्रका अधिकांश घर आंशिकरूपमा क्षतिग्रस्त भएका छन्।
गृह मन्त्रालयको तथ्यांकअनुसार बाढीबाट देशभर २२६ जनाको मृत्यु, २५ जना बेपत्ता र १५९ जना घाइते भएका छन्। यस्तै, इनरुवामा बाढी पीडितलाई राखिएको स्थानलाई लिएर फरक प्रकृतिको विवाद उत्पन्न भएको छ। इनरुवा वडा नम्बर ४ मा रहेको ज्ञानोदय आधारभूत विद्यालयका विद्यार्थीले वडा कार्यालयमा तोडफोड गरेका छन्।
विद्यालयमा आश्रय लिएका बाढी पीडितले फोहोर गरेको भन्दै विद्यार्थीहरूले आक्रोश पोखेका हुन्। बाढीले प्रभावित भएकाहरूलाई वडाध्यक्ष बौवालाल मेहताले ज्ञानोदय आधारभूत विद्यालयमा राखेका थिए। बाढी केही घटेपछि धेरैजसो पीडित घर फर्किएका छन्, तर मोरिक समुदायका परिवार अझै विद्यालयमै आश्रित छन्।
विद्यालयमा फोहोर र दुर्गन्धका कारण परीक्षा दिन असहज भएको भन्दै प्रधानाध्यापक रामबिलास मेहताको निर्देशनमा विद्यार्थीहरूले वडा कार्यालयमा तोडफोड गरेको वडाध्यक्ष मेहताले बताए।
उनका अनुसार आफु कार्यालयमा नभएको समयमा विद्यार्थीलाई नियोजित रूपमा तोडफोड गर्न पठाइएको थियो। “देश नै बाढीको पीडामा रहेको बेला पीडितमाथि यस्तो अन्याय हुनु निन्दनीय छ,” उनले थपे।
तोडफोडको क्रममा वडा कार्यालयको कुर्सी, ढोका र अन्य सामग्रीहरू क्षतिग्रस्त भएका छन्। विद्यालयका प्रधानाध्यापक मेहताले बाढी पीडितले विद्यालयमा जथाभावी फोहोर गरेको र पटक-पटक सफाइको माग गर्दा पनि सुनुवाई नभएकोले बाध्य भएर विद्यार्थीहरूलाई वडा कार्यालयमा पठाएको बताए।
घटनापछि नगर प्रमुख केदार भण्डारी, उप–प्रमुख विनिता मेहता, र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाको टोली अनुगमनमा आएको थियो। टोलीले कात्तिक २५ गतेसम्म विद्यालयलाई बिदा दिने निर्णय गरेको छ।
वडाध्यक्ष मेहताका अनुसार तोडफोडका कारण करिब ५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। विद्यालयलाई शान्ति क्षेत्र घोषित गरिसकेको अवस्थामा बालबालिकालाई कुनै पनि प्रकारका जुलुस, आन्दोलनमा नलगाउन भनिएकोमा प्रधानाध्यापककै निर्देशनमा तोडफोड गराइएको भन्दै सरोकारवालाहरूले तत्काल कारबाहीको माग गरेका छन्।
Discussion about this post