इनरूवा। सुनसरीको इनरुवा स्थित जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्तोष राईमाथि हातपात गरेको आरोपमा ठेकेदार खेमराज थापा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, सुनसरीले थापालाई नियन्त्रणमा लिएर अदालतबाट चार दिनको म्याद थप गरिसकेको छ। तर, उनलाई छुटाउन स्थानीय राजनीतिक नेतृत्वबाट चर्को दबाव सुरु भएको देखिएको छ।
खेमराज थापा इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापाका भाइ हुन्। उनीमाथिको कानुनी कारबाही रोक्न नेपाली कांग्रेसका नेताहरूले प्रहरीलाई जाहेरी नदिन दबाव दिएका थिए। तर, डा. राईले कानुनी प्रक्रियामा जाने अडान लिएपछि जाहेरी दर्ता गरिएको हो।
सुनसरी जिल्ला समन्वय समितिका सभापति राजन मेहता, इनरुवा नगर प्रमुख केदार भण्डारी र वडाध्यक्ष सुमन थापाले खेमराजलाई छुटाउन सक्रिय पहल गरेका छन्। डा. राईमाथि कार्यकक्षमै थप्पड हानेको सीसीटीभी फुटेज सार्वजनिक भए पनि राजनीतिक नेताहरूले थापालाई उन्मुक्ति दिलाउन प्रयास गरिरहेका छन्।
यस घटनाले स्थानीय राजनीतिक परिवेशमा गुण्डागर्दीको चिन्ता बढाएको छ भने एमालेले दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
खेमराज थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग निकट सम्बन्ध राख्ने बताइन्छ। उनले मन्त्रीको प्रभाव देखाउँदै चिकित्सकहरूलाई धम्क्याउने गरेको समेत आरोप लागेको छ।
डा. राईले ७० वर्षीय बिरामीका छोरा खेमराजले रिपोर्ट ‘मिसप्लेस’ भएको भन्दै थप्पड हानेको बताएका छन्। इनरुवा अस्पतालभित्रको यो विवादले राजनीतिक हस्तक्षेपको गहिराइ झल्काएको छ।
Discussion about this post