इनरुवा – सुनसरीको इनरुवा नगरपालिकाले निजी स्वामित्वमा रहेको २ नम्बर वडाको खेतमा, ५० लाख रुपैयाँ लागतमा तीनकोठे भवन निर्माण गरेको तथ्य फेला परेको छ। उक्त भवन गणेश मेहता र शिवनारायण मेहताका नाममा रहेको धानखेतमा निर्माण गरिएको हो। भवनलाई शहरी स्वास्थ्य केन्द्रका रूपमा निर्माण गरिएको भए पनि आसपासमा कुनै आवासीय क्षेत्र छैन, र भवनसम्म पुग्नको लागि सडक सुविधा समेत उपलब्ध छैन।
भवन निर्माण गरिएको स्थानको सडक सुविधा निजी विवादका कारण अझै निर्माण गर्न सकिएको छैन। चारैतिर धानखेतीले घेरिएको यस निजी जग्गामा नगरपालिका कार्यालयले आफ्नो लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण गरेको देखिन्छ, जसको मालपोत दर्ता इनरुवा मालपोत कार्यालयमा मेहता दाजुभाईको नाममा छ।
नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को ठेक्का नम्बर ५३ अन्तर्गत अधुरो भवन पूरा गर्न २० लाख ३ हजार २९० रुपैयाँको लागत इष्टिमेट तयार गरी जय माँ काली कन्ट्रक्सन प्रा.लि.सँग सम्झौता गरेको थियो। यसअघि नगरपालिकाले ३० लाख रुपैयाँ खर्चेर भवनको छत, शौचालय र सिढी बनाएको थियो।
भवन निर्माण गर्दा कुनै कानुनी प्रक्रिया तथा भवन निर्माण आचारसंहिता अनुसार जग्गा स्वामित्वको प्रमाण र चारकिल्ला नक्शा पेश नगरिएको तथ्य पनि फेला परेको छ। नेपालको भवन निर्माण ऐन अनुसार कुनै पनि निकायले भवन निर्माण गर्नु अघि आर्किटेक्चर नक्शा र स्वामित्वको प्रमाणपत्र पेश गर्नुपर्छ। तथापि, नगरपालिकाको यो भवन निर्माणको ठेक्का फाइलमा आवश्यक कागजातहरू समेत नसमेटिएको पाइयो।
सम्झौता अनुसार कम्पाउन्ड वाल, झ्याल, ढोका, विद्युतिय वाइरिङ, पेन सेनेटरीजस्ता सुविधा सम्पन्न बनाउने योजना थियो। यद्यपि, हालसम्म कम्पाउन्ड वाल समेत निर्माण हुन सकेको छैन भने, निर्माण भएका संरचनामा केही भत्कने अवस्थामा छन्।
इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले उक्त जग्गा निजी स्वामित्वमा रहेको जानकारी पाएपछि निर्माण रोक्का गरेको बताए। उनले नगरपालिकाको नाममा जग्गा हस्तान्तरण गराउन प्रयास गरेपनि जग्गाधनीले अस्वीकार गरेको कारण कम्पाउन्ड वाल निर्माण रोकिएको उल्लेख गरे।
वडाध्यक्ष विश्वनाथ ठाकुरका अनुसार यो भवन निर्माणको काम अघिल्लो जनप्रतिनिधिको कार्यकालमा सुरु भएको थियो र हाल नगरपालिका कार्यालयले कामलाई पूर्णता दिन खोज्दा समस्या देखिएको हो। जग्गाधनीले जग्गा नगरपालिकालाई नदिने बताएपछि अहिले कार्य रोकिएको उनले जानकारी दिए।
योजना फाँटका इन्जिनियर उमेश्वर मेहताका अनुसार यस भवनको निर्माणको लागि दुई आर्थिक वर्षमा नगरसभाबाट पारित बजेट र इष्टिमेट अनुसार काम गरिएको हो। उनले आफ्नो प्राविधिक जिम्मेवारी अनुसार नाप नक्शा तयार पार्ने र बजेट अनुसारको काम गराएको बताए।
Discussion about this post