दिपेन्द्र यादव/इनरुवा – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ मा रहेको ऐतिहासिक काली मन्दिरको संरक्षण र यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई प्रवर्द्धन गर्न भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले विशेष जोड दिएका छन्। उनले दिवालीको अवसरमा मन्दिर प्राङ्गणमा आयोजना हुने पाँच दिने दीपावली मेलामा उद्घाटन गर्दै मन्दिर र यससँग सम्बन्धित सांस्कृतिक परम्पराको संरक्षण गर्न गाउँपालिकाले विशेष कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।
हरेक वर्ष परम्परागत रुपमा मनाइने दीपावली मेला पाँच दिनसम्म चल्ने गर्छ, जसमा भगवानप्रति आस्था राख्ने भक्तजनहरूको उपस्थिति रहन्छ। यस मेलामा आयोजित विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमहरूले मन्दिरको धार्मिक महत्वलाई उजागर गर्दै आएको छ। मन्दिरमा दर्शनका लागि आउने भक्तजनहरूले आफ्नो भाकल पुरा भएको उपलक्ष्यमा निःस्वार्थ भावले बलि चढाउने चलन रहँदै आएको छ भने यस मेलामा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय कुस्ती खेलजस्ता प्रतियोगिता आयोजना गरिन्छ जसले खेल र कला संस्कृतिको उत्थानमा योगदान पुर्याउँछ। कुस्ती खेलमा भारत, नेपाल तथा अन्य देशका खेलाडीहरूको सहभागिता हुने गर्दछ, जसले मेला परिसरलाई एक प्रकारको सांस्कृतिक तथा खेलकुदको मञ्चमा परिणत गरेको छ।
पालिका अध्यक्ष आजादले मेलामा उपस्थित सहभागीहरूसँग काली मन्दिरको संरक्षणका निम्ति आवश्यक स्रोतसाधन परिचालन गर्न तत्परता देखाउँदै काली मन्दिरको ऐतिहासिक एवं धार्मिक महत्वलाई कायम राख्न र यससँग सम्बन्धित स्थानीय परम्परालाई संरक्षण गर्न गाउँपालिकाले आगामी दिनमा विशेष योजना अगाडि बढाउने प्रतिवद्धता जनाए। उनले स्थानीयवासीले मेलामा देखाउने नृत्य र परम्परागत साङ्गीतिक कार्यक्रमलाई पनि संरक्षण र सम्बर्द्धन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै स्थानीय कला, संस्कृति र परम्पराको सजीव दस्तावेज मेला भएको बताए।
यस वर्षको दीपावली मेलामा, विशेष रूपमा मन्दिरमा पूजा तथा भाकल गर्ने क्रम, बलि चढाउने चलन र मेला अवधिभर स्थानीय संस्कृति झल्काउने नृत्य कार्यक्रमको पनि आकर्षण रहेको छ। यस अवसरमा, भोक्राहा नरसिंह गाउँपालिकाले मन्दिरको संरक्षण कार्यमा स्थानीय, प्रदेश, तथा संघीय स्तरमा सहयोग जुटाउँदै काली मन्दिर परिसरको पुनर्निर्माण तथा सौन्दर्यकरण योजना अघि बढाउने घोषणा गर्यो।
अध्यक्ष आजादले काली मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास गर्न सकिने सम्भावना रहेको र यसले स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै, उनले मन्दिरको पूर्वाधार विकाससँगै, मेलेको प्रचारप्रसार गर्न र खेलकुद गतिविधिको माध्यमबाट समुदायलाई एकीकृत बनाउन पालिकाले योजना बनाइरहेको जानकारी दिए।
मेलामा सहभागी जनसमुदाय र भक्तजनहरूले काली मन्दिर संरक्षणको योजना र अध्यक्ष आजादको प्रतिबद्धतालाई प्रशंसा गर्दै मन्दिर र यसको परम्परागत गतिविधिको संरक्षण एवं सम्बर्द्धनका लागि सामूहिक योगदान गर्नुपर्नेसमेत अभिव्यक्ति दिए।
Discussion about this post