सुनसरी – भारतसँगको सीमा जोडिएको सुनसरीको कोशी गाउँपालिका–१ वेलाहा बाट भन्सार नजिकैबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको मोटरसाइकलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको हो।
सशस्त्र प्रहरी निरीक्षक नारायण प्रसाद गौतमको नेतृत्वमा पछिल्लो समय लागुऔषध नियन्त्रणमा अभियान चलिरहेको अवस्थामा पक्राउ परेका युवक हुन् – रामधुनी नगरपालिका–२ धनौरा बस्ने २४ वर्षीय शिवशंकर चौधरी। उनी भारतीय सीमाबाट नेपाल प्रवेश गरिरहेका थिए।
चौधरी सवार को.२९प ३५४२ नम्बरको यामाहा FZ–S मोटरसाइकल सशस्त्र प्रहरीको टोलीले वेलाहा याट भन्सार गेट नजिकै रोकेको थियो। प्रहरी नायब निरीक्षक प्रकार भट्टराईको कमाण्डमा सशस्त्र प्रहरी सहायक हवल्दार सुदीप विश्वकर्मा र जवान नवीन कुमार मण्डलले जाँच गर्दा मोटरसाइकलको अगाडिको दाहिने इन्डिकेटरभित्र कालो प्लास्टिकमा लुकाएर राखिएको पदार्थ फेला परेको हो।
प्लास्टिक खोल्दा हेरोइन जस्तो देखिने खैरो पदार्थ तौल गर्दा ५.२१ ग्राम अर्थात् पाँच ग्राम दुई सय बीस मिलिग्राम रहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको भनाइमा, ती पदार्थ अत्यन्तै संवेदनशील र लत लाग्ने खालका छन्, जसले युवाहरूको भविष्य बर्वाद बनाइरहेको छ।
पक्राउ परेका चौधरीसँगै एक थान रोलेक्स ब्रान्डको घडी र एक थान रेड्मी मोबाइलसमेत बरामद गरिएको छ। मोबाइलमा उनले प्रयोग गरेको सिमको नम्बर ९८२७१४३६३७५ रहेको छ। ती सबै सामग्री र पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्युरो (Narcotics Control Bureau) मा पठाइएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी निरीक्षक गौतमका अनुसार, “हामी सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार रोक्न विशेष निगरानीमा छौं। पछिल्लो समयको सक्रियताले तस्करहरू एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन्। यसले हाम्रो कार्य सफल हुँदै गएको देखिएको छ।”
सुनसरीको सीमावर्ती क्षेत्र विशेष गरी वेलाहा, लौकही, हरिपुर जस्ता नाकाहरू हुँदै लागुऔषध ओसारपसारको ट्रान्जिट बन्दै आएकोमा सुरक्षा निकायको कडाइपछि ती गतिविधिमा केही हदसम्म अंकुश लागेको देखिएको छ।
युवाहरूमाझ बढ्दो लागुऔषधको प्रयोगले समाजमा गम्भीर असर पारिरहेको सन्दर्भमा, यस्तो नियन्त्रणात्मक कार्यलाई स्थानीयले प्रशंसा गरेका छन्। प्रहरी प्रशासनले यसअघि पनि दर्जनौँ युवालाई सानो मात्रामा हेरोइन, ब्राउन सुगर, ट्रामाडोल लगायतका नशालु पदार्थसहित नियन्त्रणमा लिएको थियो।
अझ व्यापक खोज, निगरानी र सचेतनाका कार्यक्रममार्फत मात्र यस्तो समस्यालाई न्यून पार्न सकिने सशस्त्र प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार, अब सीमावर्ती क्षेत्रको प्रत्येक चोक, गल्ली र नाकामा विशेष चेकिङ र निगरानी थप सशक्त बनाइनेछ।










Discussion about this post