सुनसरी — रामधुनी नगरपालिका–२ कर्मनिया टोलमा शनिबार साँझ भएको घटनाले स्थानीयवासी स्तब्ध बनेका छन्। सिटी सफारी चालक ४७ वर्षीय दिनेशकुमार चौधरी मृत अवस्थामा फेला परेपछि घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको छ।
शनिबार साँझ करिब ५ बजे चौधरी आफ्नै सिटी सफारीसहित सडक छेउमा रगताम्य अवस्थामा मृत फेला परेका थिए। प्रारम्भिक रूपमा शरीरमा गहिरो चोट देखिएकाले गोली प्रहारबाट हत्या भएको हुनसक्ने आशंका गरिएको छ। तर, घटनास्थलमा गोलीको खोका फेला नपरेको कारण घटनाको प्रकारबारे निश्चित निष्कर्ष निकाल्न प्रहरीले सकेको छैन।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले भने, “पोष्टमार्टम रिपोर्ट नआउँदासम्म गोली प्रहार हो वा अन्य कारणबाट मृत्यु भएको भन्ने ठ्याक्कै भन्न सकिँदैन।” उनका अनुसार मृतक चौधरीको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय रामधुनीका प्रमुख प्रहरी निरीक्षक सुजन मुदेलको टोली घटनास्थल पुगेको थियो। त्यस्तै, थप अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख एसपी केशवकुमार थेबे स्वयम् टोलीसहित पुगेका थिए। प्रहरीले घटनास्थलको विस्तृत मुचुल्का उठाएर हत्या कसले र किन गर्यो भन्नेबारे अनुसन्धान थालेको जनाएको छ।
स्थानीयवासीले भने चौधरी रामधुनी क्षेत्रमा विगत लामो समयदेखि सिटी सफारी चलाउँदै आएको र कुनै आपराधिक गतिविधिमा संलग्न नरहेको बताएका छन्। हालसम्म घटनाको कारण खुलेको छैन भने प्रहरीले हत्या पछाडिको वास्तविक कारण पत्ता लगाउन खोजी र अनुसन्धान तीव्र बनाएको छ।
३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित
इनरुवा । उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल विजयी भएका छन्। उनले...











Discussion about this post