विराटनगर । जेनजी आन्दोलनका कारण प्रशासनिक भवन क्षतिग्रस्त भएपछि विराटनगर महानगरपालिका अहिले अस्थायी टेन्टमै कार्यालय सञ्चालन गरिरहेको छ । यस्तै अवस्थामा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिक राजस्व संकलनलाई महानगरले ‘सन्तोषजनक प्रगति’को रूपमा लिएको छ।
साउनदेखि असोज मसान्तसम्म (त्रैमासिक) महानगरले ११ करोड ९८ लाख २७ हजार ७७९ रुपैयाँ आन्तरिक राजस्व उठाएको छ। गत वर्ष सोही अवधिमा १५ करोड रुपैयाँ संकलन भएको अवस्थामा यो वर्ष करिब ३ करोडले कम भए पनि आन्दोलनपछिको अवरोधपूर्ण परिस्थितिमा यो उपलब्धिलाई ‘अप्रत्याशित रूपमा सकारात्मक’ मानिएको छ।
राजस्व महाशाखा प्रमुख सरोज गौतमका अनुसार पछिल्लो तीन महिनामा ३५ वटा नयाँ व्यवसाय दर्ता, ३५ वटा व्यवसाय खारेजी तथा ३ हजार ५५ व्यवसाय नवीकरण भएका छन्। दैनिक सेवा टेन्टमै स्थानान्तरण गर्नुपरेको चुनौतीबीच पनि राजस्व संकलनमा दिनहुँ सुधार भइरहेको गौतमले बताए।
समाचार तयार पार्दासम्म महानगरले १४ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ भने गत वर्ष सोही अवधिमा यो रकम १७ करोड थियो।
यसैबीच, भवन जलेर क्षति पुगेपछि महानगरले २०८२/८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी पनि अस्थायी टेन्टमै सम्पन्न गर्यो। मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाललगायतको उपस्थितिमा विभिन्न महाशाखाले आफ्नो–आफ्नो प्रगति पेश गरे।
कार्यक्रममा राजस्व व्यवस्थापन महाशाखाका गौतमसँगै आर्थिक विकास महाशाखाका प्रतीक गड्तौला, स्वास्थ्य महाशाखाका डा. दिलीपकुमार यादव, भौतिक पूर्वाधार महाशाखाका अर्जुन थापा, आर्थिक प्रशासन महाशाखाका सञ्जीव भट्टराई, शैक्षिक प्रशासन अधिकृत रमेश ढुंगाना, कानुन शाखाकी प्रमुख शारदा थपलियालगायतले साउन–असोजका गतिविधि प्रस्तुत गरे।
त्यसैगरी सामाजिक विकास महाशाखाकी मञ्जु लोहनी, भण्डारण शाखाका अजय साह, विपद तथा वातावरण र सूचना शाखाकी प्रमुख कमला निरौला, नगर प्रहरी प्रमुख राजन पौडेललगायतले पनि आफ्नो-आफ्नो प्रगति विवरण सार्वजनिक गरेका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए।
टेन्टमै सेवा, टेन्टमै समीक्षा—तर, चुनौतीबीच पनि राजस्व संकलन सुस्त गतिमा अघि बढिरहेको महानगरको मूल्यांकन छ।











Discussion about this post