सुनसरी। भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको बायोमेट्रिक प्रणालीमार्फत भेरिफिकेशन अनिवार्य गरिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशनअनुसार उक्त प्रक्रिया अगाडि बढाइएको वडाले जनाएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको च.नं. ९२, को पुस १४ गते१ प्राप्त पत्रअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको पहिचान राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा बायोमेट्रिक भेरिफिकेशन हुँदै आएको छ। तर आर्थिक वर्ष २०८२/०८३ मा केही लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन नगरी सामान्य रूपमा नवीकरण भएको हुँदा हाल राष्ट्रिय परिचयपत्र नम्बरमार्फत भेरिफिकेशन गर्न बाँकी रहेका लाभग्राहीहरूले अनिवार्य रूपमा ख्एम्एस (MIS) प्रणालीमा मिति २०८२/१० /१५ गतेभित्र बायोमेट्रिक भेरिफिकेशन गराउनुपर्ने वडाले जानकारी दिएको छ।

वडा नं. ५ का वडाध्यक्ष हबिब मंसुरीले सामाजिक सुरक्षा भत्ता प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन बायोमेट्रिक भेरिफिकेशन आवश्यक रहेको बताए। उनले भने, “सरकारको निर्देशनअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वास्तविक लाभग्राहीको पहिचान सुनिश्चित गर्न बायोमेट्रिक भेरिफिकेशन अनिवार्य गरिएको हो। तोकिएको समयभित्र प्रक्रिया पूरा नगर्ने लाभग्राहीले अर्को चौमासिकदेखि भत्ता पाउन नसक्ने अवस्था आउन सक्छ।”
उनका अनुसार ज्येष्ठ नागरिकको हकमा बायोमेट्रिक भेरिफिकेशन गर्न नसक्ने अवस्था भएमा राष्ट्रिय परिचयपत्र नम्बर प्रविष्ट गरी MIS प्रणालीमार्फत व्यक्तिगत विवरणका आधारमा भेरिफिकेशन गर्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी, बालबालिका, आफैं हेरचाह गर्न नसक्ने, अशक्त, असहाय तथा ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरूको हकमा बायोमेट्रिक भेरिफिकेशन अनिवार्य गरिएको छैन।
वडाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका सबै लाभग्राहीहरूलाई तोकिएको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गर्न तथा थप जानकारीका लागि वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका विभिन्नहरुमा समेत जारी रहेको सामाजिक सुरक्षा शाखाले जनाइएको छ ।












Discussion about this post