काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा उम्मेदवारहरूलाई आज उम्मेदवारी फिर्ता लिने अवसर दिइएको छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ।
निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने समय सकिएपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ। त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न वितरण गरिने आयोगले जनाएको छ।
पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत माघ ७ गते दाबी–विरोधका उजुरी संकलन गरी छानबिनपछि उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो। यस निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। दर्ता भएकामध्ये ३ हजार ८९ जना पुरुष, ३९६ जना महिला र एक जना अन्य लिङ्गका उम्मेदवार रहेका छन्। माघ ६ गते एकैदिन देशभर मनोनयनपत्र दर्ता गरिएको थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमार्फत २७५ सदस्यीय संसद् गठन हुनेछ। जसअन्तर्गत १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।











Discussion about this post