सुनसरी । इटहरी उपमहानगरपालिका–६ को मुख्य चोक शनिबार राति शोक र आक्रोशको केन्द्र बन्यो। तीव्र गतिमा गुडिरहेको ट्रकको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको हो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ३१८१ नम्बरको ट्रकले सोही दिशामा अघि बढिरहेको साइकललाई ठक्कर दिँदा धनकुटा घर भई हाल इटहरी–४ मा बस्दै आएका करिब ४५ वर्षीय पूर्णप्रसाद राई गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै प्रहरीको भ्यानमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए पनि उपचारका क्रममा राति २१ः५४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि घटनास्थलमा तनावको अवस्था सिर्जना भएको थियो। आक्रोशित स्थानीयवासीहरूले चोकमा सवारी साधन आवागमन अवरुद्ध गर्दै तीव्र गतिको सवारी नियन्त्रण गर्न माग गरेका थिए।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। ट्रक चालक जिल्ला बारा, कलैया–१६ निवासी २९ वर्षीय उपेन्द्र यादवलाई इलाका प्रहरी कार्यालय इटहरीले हिरासतमा लिएको जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको मुख्य कारण ट्रकको अत्यधिक गति रहेको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक सुवासको कमाण्डमा पाँच जनाको थप टोली परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको थियो।










Discussion about this post