काठमाडौं । भारत आज आफ्नो संविधान लागू भएको ऐतिहासिक क्षणको सम्झनामा ७७ औँ गणतन्त्र दिवस उत्सवमय वातावरणमा मनाउँदैछ । राजधानी नयाँ दिल्लीको कर्तव्य पथ राष्ट्रिय गौरव, शक्ति र सांस्कृतिक पहिचानको भव्य मञ्च बनेको छ, जहाँ मुख्य समारोहको नेतृत्व राष्ट्रपति द्रौपदी मुर्मुले गर्नेछिन् ।
यस वर्षको गणतन्त्र दिवसलाई अन्तर्राष्ट्रिय उपस्थितिले अझ विशेष बनाएको छ । युरोपेली काउन्सिलका राष्ट्रपति एन्टोनियो कोस्टा र युरोपेली आयोगकी राष्ट्रपति उर्सुला भोन डर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन् । राष्ट्रपति भवनदेखि राष्ट्रिय युद्ध स्मारकसम्म फैलिएको कर्तव्य पथ भारतको संविधान, विविध संस्कृति, सैन्य सामर्थ्य र विकास यात्रालाई झल्काउने गरी आकर्षक रूपमा सजाइएको छ ।
बिहान १०ः३० बजे औपचारिक रूपमा सुरु हुने समारोहअघि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय युद्ध स्मारकमा पुगेर राष्ट्रका लागि बलिदान दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि उनले परेड अवलोकन गर्ने कार्यक्रम छ ।
परेडमा थलसेना, नौसेना र वायुसेनाका मनमोहक झाँकीसँगै भारतका अत्याधुनिक हतियार प्रणाली, मिसाइल, ट्याङ्क, ड्रोन प्रविधि तथा स्वदेशमै विकसित रक्षा उपकरणहरू प्रदर्शन गरिनेछ । यस वर्ष विशेष आकर्षणका रूपमा भारतीय सेनाको ‘ब्याटल एरे’ फर्म्याट पहिलो पटक प्रस्तुत हुँदैछ ।
समारोहमा परमवीर चक्र र अशोक चक्र प्राप्त वीरहरूलाई सम्मान गरिनेछ । साथै, ‘विविधतामा एकता’ र ‘आत्मनिर्भर भारत’को मूल सन्देश बोकेका ३० वटा झाँकीले भारतको समृद्ध सांस्कृतिक सम्पदा र विकासको यात्रालाई रंगीन रूपमा प्रस्तुत गर्नेछन् ।











Discussion about this post