सिरहाको गोलबजार नगरपालिका–३, जमदहमा १६ वर्षीया निशा बानियाँको मृत्युपछि घटनाले रहस्यमय मोड लिँदै गएको छ। घरमै मृत फेला परेकी किशोरीको शव पोष्टमार्टमका लागि अस्पताल पठाइए पनि पछि त्यही अस्पतालबाट शव नै हराएको खबर सार्वजनिक भएपछि स्थानीय क्षेत्रमा आक्रोश र तनाव फैलिएको छ।
निशा बानियाँ, रमेश बानियाँकी छोरी हुन्। गत माघ ९ गते शुक्रबार उनी आफ्नै घरमा पासो लगाएको अवस्थामा मृत भेटिएकी थिइन्। इलाका प्रहरी कार्यालय गोलबजारले प्रारम्भिक रूपमा घटनालाई आत्महत्या मानेर मुचुल्का उठाएको थियो र पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा शव पठाइएको थियो।
तर घटनाले माघ ११ गते नयाँ मोड लियो। रोजगारीका सिलसिलामा भारतमा रहेका मृतकका आमा–बुबा शव बुझ्न अस्पताल पुगे, तर अस्पतालमा छोरीको शव नै फेला परेन। यही घटनापछि आक्रोशित आफन्त र स्थानीयवासी सडकमा उत्रिए।
दोषीमाथि कडा कारबाहीको माग गर्दै उनीहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरे। केही समय सडक अवरुद्ध हुँदा यात्रुहरू समेत प्रभावित भए।
स्थानीयवासीले यो घटनालाई सामान्य आत्महत्या मान्न नसकिने बताएका छन्। उनीहरूका अनुसार निशा मृत्यु हुनु अघिल्लो दिन लहानका एक युवकको घरमा बसेकी थिइन्, जहाँ उनीहरूबीच प्रेम सम्बन्ध रहेको चर्चा छ। त्यहाँबाट घर फर्किएको केही समयमै आत्महत्या भएको भनिए पनि मृतकको शरीरमा चोटपटक देखिएको दाबी गरिएको छ।
स्थानीय आनन्द लामाले घटनाको निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको बताए। उनले भने,
“लहानबाट फर्किएपछि अचानक आत्महत्या भएको भनिएको छ, तर शव नै हराउनु झनै गम्भीर कुरा हो। सत्य बाहिर आउनुपर्छ।”
अस्पतालबाट शव हरिनु, आत्महत्याको दाबी र स्थानीयले उठाएका प्रश्नहरूले घटनालाई झन् पेचिलो बनाएको छ। अहिले गोलबजार क्षेत्र शोक, आक्रोश र अनिश्चितताबीच न्यायको प्रतीक्षामा छ।











Discussion about this post