इनरुवा । मोरङको रंगेलीमा रेडबुल किन्दै सुरु भएको शंका प्रहरीसम्म पुग्दा नक्कली नोटको जालो खुलेको छ। एक हजारको जस्तो देखिने कागजी नोट चलाएको आरोपमा ४५ वर्षीय सहमद हुसेन पक्राउ परेका छन्। उनको सिटी सफारीबाट थप नक्कली नोट भेटिएपछि अनुसन्धानले नयाँ मोड लियो।
प्रहरीको सोधपुछपछि रंगेली–२ कै महेन्द्र मेहताको घरमा छापा मार्दा थप नक्कली नोट बरामद भयो। दुवैको घरबाट जम्मा ९ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट फेला परेको प्रहरीले जनाएको छ।
सीमा जोडिएको मोरङमा नक्कली नोट फेला पर्न थालेको यो घटना नयाँ होइन। यसअघि पनि भारतबाट छापिएका नक्कली नोट नेपाली बजारमा पठाउने गिरोह समातिएको थियो। निर्वाचन नजिकिँदै गर्दा पैसाको चलखेल बढ्ने भएकाले यस्ता गिरोह सक्रिय हुने प्रहरीको भनाइ छ।
प्रहरीले अझै बजारमा नक्कली नोट हुनसक्ने आशंका गर्दै सतर्क रहन सबैलाई आग्रह गरेको छ।











Discussion about this post