काठमाडौं – काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आइतबार साँझदेखि नै लामो लाइन देखिन थालेको छ। सवारी साधनधनीहरु पेट्रोल र डिजेल भर्न धाउने क्रम बढेको छ।
विशेषज्ञहरुका अनुसार, मध्यपूर्वमा इरान र इजरायलबीचको बढ्दो तनाव र त्यसको असर खाडीका देशहरुमा परेको छ। यसले विश्वभर तेलको मूल्यवृद्धि र आपूर्तिमा संकट निम्त्याउन सक्ने सम्भावना छ। नेपालमा समेत यसबाट इन्धन अभावको डर बढेपछि उपभोक्ताहरु पेट्रोल पम्पमा लामबद्ध हुन थालेका हुन्।
नेपाल आयल निगमले भने, फागुन २१ को चुनाव र होलीका सार्वजनिक विदाका कारण पनि पेट्रोल पम्पमा भिड बढेको जनाएको छ। सोमबार ५३ जिल्लामा र मंगलबार २४ जिल्लामा विदा हुने भएकोले पनि उपभोक्ताहरु गाडीमा इन्धन भर्न लागेका हुन्।
निगमका अनुसार, सामान्य दिनको तुलनामा पेट्रोलको बिक्री ८८ प्रतिशत र डिजेलको बिक्री ५० प्रतिशतसम्म वृद्धि भएको छ। आइतबार पेट्रोल ४,७०० किलोलिटर र डिजेल ६,००० किलोलिटर बिक्री भएको छ। सामान्यतया, पेट्रोलको दैनिक खपत २,५०० किलोलिटर र डिजेल ४,०००–४,५०० किलोलिटर हुने गरेको थियो। थानकोट डिपोबाट मात्र पेट्रोल १,६५० किलोलिटर र डिजेल १,२५० किलोलिटर बिक्री भएको छ। निगमसँग १,०२,००० किलोलिटर भण्डारण क्षमता छ, जसले १३ दिनसम्मको आन्तरिक माग धान्न सक्नेछ।










Discussion about this post