इनरुवा । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङसहित देशभरका नेपाल–भारत सीमा नाकाहरू अस्थायी रूपमा बन्द गरिने भएको छ। सुरक्षा जोखिमलाई न्यूनिकरण गर्न सोमबार राति १२ बजेदेखि सीमा सिल गर्ने निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार फागुन १८ गते राति १२ बजेदेखि लागू हुने गरी सीमा नाका पूर्ण रूपमा बन्द गरिनेछ। निर्वाचन सम्पन्न भएपछि फागुन २१ गते बेलुका १२ बजेसम्म नाका बन्द रहने उनले जानकारी दिए।
निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा पारिएको छ। विशेषगरी रातिको समयमा सवारी साधन चेकजाँचलाई तीव्र बनाइएको छ। शंकास्पद व्यक्ति वा वस्तु भेटिएमा नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ। अत्यावश्यक वा विशेष कारणले बाहिर जानुपर्ने अवस्थामा भने जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य गरिएको छ।
सीमा आसपासका धेरै मतदान केन्द्र अति संवेदनशील सूचीमा परेकाले शान्तिपूर्ण र भयरहित मतदान वातावरण सुनिश्चित गर्न प्रशासनले सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ। मतदानपछि अनावश्यक भीड नगर्न र सुरक्षाकर्मीलाई सहयोग गर्न पनि आग्रह गरिएको छ।
फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गराउन प्रशासनले तयारी तीव्र बनाएको जनाएको छ।










Discussion about this post