इनरुवा । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोरप्रसाद घिमिरे रहेका छन्।
सोमबार रामेछाप नगरपालिका–२ सिरुवारी क्षेत्रमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट करिब एक सय मिटर तल खसेको थियो। दुर्घटनामा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर उपचारका लागि पठाइएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बोकेर उक्त गाडी सिरुवारीस्थित सितलदेवी माध्यमिक विद्यालय र रामेछाप नगरपालिका–३ को वडा कार्यालय भवनतर्फ जाँदै थियो। सोही क्रममा सडकको मोड पार गर्न नसक्दा गाडी दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कमल राउत नेतृत्वको टोली तथा सशस्त्र प्रहरीको विपद् उद्धार बेस खुर्कोटको टोलीले घाइतेहरूको उद्धार गरी सदरमुकाम मन्थली पठाएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










Discussion about this post