इनरुवा । सुनसरीको कोशी गाउँपालिका–३ मा सामुदायिक कुकुरलाई कुटपिट गरी मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय सन्तोष दास रहेका छन्। आफ्नो मकैबारीमा आएको भन्दै उनले एउटा सामुदायिक कुकुरलाई लठ्ठीले कुटपिट गरी मारेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार २०८२ फागुन २७ गते दिउँसो करिब ३:२० बजे प्रहरी टोलीले दासलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका दासविरुद्ध पशुपंक्षीसम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपालको पशु क्रूरता सम्बन्धी कानुनी व्यवस्था अनुसार कुनै पनि पशुपंक्षीलाई अनावश्यक रूपमा कुटपिट गर्ने, पीडा दिने वा मार्ने कार्यलाई दण्डनीय अपराध मानिन्छ। मुलुकी अपराध संहिता, २०७४ मा पशुपंक्षीमाथि क्रूर व्यवहार गर्न नहुने स्पष्ट व्यवस्था गरिएको छ। यस्तो कसुर पुष्टि भएमा दोषीलाई जरिवाना, कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।










Discussion about this post