सुनसरी । नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको माग अस्वाभाविक रूपमा बढेको भन्दै केही समयका लागि आधा सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेपछि सुनसरीका उपभोक्ताहरू चिन्तित बनेका छन्।
निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बजारमा ग्यासको माग अत्यधिक बढेपछि आपूर्ति व्यवस्थापनलाई सहज बनाउन अब अर्को निर्णय नभएसम्म प्रति सिलिन्डर ७.१ केजी एलपी ग्यास मात्र बिक्री गरिनेछ। आधा सिलिन्डरको मूल्य ७५५ रुपैयाँ तोकिएको छ।
सुनसरीका विभिन्न स्थानका ग्यास उपभोक्ताहरूले भने यस्तो निर्णयले दैनिक जीवनमा समस्या हुने बताएका छन्। इटहरीका स्थानीय उपभोक्ता सन्तोष राउतले आधा सिलिन्डरले धेरै दिन नचल्ने भएकाले बारम्बार ग्यास खोज्दै हिँड्नुपर्ने अवस्था आउने बताए। “पहिले नै कहिलेकाहीँ ग्यास पाउन गाह्रो हुन्छ, अब आधा मात्र दिने भएपछि झन् समस्या बढ्ने देखिन्छ,” उनले भने।
त्यस्तै इनरुवाकी गृहिणी सरिता यादवले बजारमा ग्यास अभावको स्पष्ट अवस्था नदेखिए पनि यस्तो निर्णयले उपभोक्तामा त्रास बढाएको बताइन्। “सरकारले ग्यास पर्याप्त छ भने किन आधा मात्र दिने ? यसले झन् अभावको हल्ला फैलाउँछ,” उनले भनिन्।
ग्यास बिक्रेताहरूका अनुसार पछिल्ला दिनमा सुनसरीमा पनि उपभोक्ताहरूले आवश्यकताभन्दा बढी ग्यास खरिद गर्ने प्रयास गर्दा माग अचानक बढेको देखिएको छ। त्यसैलाई नियन्त्रण गर्न निगमले यस्तो निर्णय गरेको हुन सक्ने उनीहरूको अनुमान छ।
निगमले भने ग्यासको आपूर्ति पूर्ण रूपमा रोकिएको अवस्था नरहेको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। साथै, सबै उपभोक्ताले समान रूपमा ग्यास पाउन सकून् भन्ने उद्देश्यले अस्थायी रूपमा आधा सिलिन्डर बिक्रीको व्यवस्था लागू गरिएको जनाएको छ।










Discussion about this post