इनरुवा । मोरङ र सुनसरीमा प्रहरीले लागूऔषधसम्बन्धी दुई फरक घटनामा तीन जनालाई पक्राउ गरेको छ।
सुनसरीको गढी गाउँपालिका–२ स्थित औरावनी चोकमा सञ्चालन भइरहेको एक फार्मेसीबाट प्रतिबन्धित लागूऔषध फेला परेपछि प्रहरीले फार्मेसी सञ्चालिका ३२ वर्षीया मोनिका चौधरीलाई नियन्त्रणमा लिएको हो। मोरङको सुन्दरहरैँचा नगरपालिका–८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी चौधरीले सटर भाडामा लिएर ‘शिवमहिमा मेडिकल हल’ सञ्चालन गर्दै आएकी थिइन्।
फार्मेसीबाट प्रतिबन्धित औषधि बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दुहबीको संयुक्त टोलीले पसलमा खानतलासी गरेको थियो। त्यसक्रममा लुकाइछिपाइ राखिएको ट्रामाडोल र स्पास्पेन गरी २ हजार ९ सय ३० ट्याब्लेट बरामद भएपछि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैबीच मोरङको विराटनगर महानगरपालिका–३ बरगाछी चोकबाट पनि प्रहरीले दुई जनालाई गाँजासहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको अररिया जिल्लाका पृथ्वी कुमार सिंह र कृष्ण कुमार सिंह रहेका छन्। उनीहरूको साथबाट ११ किलो ५२ ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।










Discussion about this post