इनरुवा । मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको मुसहर बस्तीमा बुधबार दिउँसो भीषण आगलागी हुँदा ११ वटा घर पूर्ण रूपमा नष्ट भएका छन्। बाँस र काठले बनेका कच्ची घरहरूमा अचानक सल्किएको आगोले छोटो समयमै बस्तीभर फैलिँदै ठूलो क्षति पुर्याएको हो।
प्रहरीका अनुसार विद्युत सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। दिउँसो करिब २ बजेतिर सोनु ऋषिदेवको घरबाट सुरु भएको आगो कच्ची संरचना र टाटीबारका कारण तीव्र गतिमा अन्य घरहरूमा फैलिएको थियो। घरभित्र रहेका ग्यास सिलिण्डर पड्किँदा आगो झन् भयावह बनेको थियो।
घटनाबारे जानकारी पाएलगत्तै विराटनगर र इटहरीबाट दमकलसहित सुरक्षाकर्मी तथा स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए। करिब ४५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अधिकारीहरूका अनुसार स्थानीय प्रहरी टोलीको नेतृत्वमा उद्धार तथा नियन्त्रण कार्य सम्पन्न गरिएको हो। आगलागीबाट प्रभावित परिवारहरूका लागि तत्काल राहतस्वरूप सामूहिक खाना खाने व्यवस्था गरिएको छ भने अस्थायी बसोबासको व्यवस्थाका लागि पनि पहल भइरहेको छ।











Discussion about this post