इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट राष्ट्रिय राजनीतिमा उदाएकी युवा नेतृ निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधि सभा सदस्य मेहताको मन्त्री नियुक्तिसँगै देशको स्वास्थ्य सेवा प्रणालीमा सुधारको नयाँ आशा र अपेक्षा थप बलियो बनेको छ।
स्थानीय स्तरबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी मेहताले पछिल्लो समय राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव बढाउँदै लगेकी थिइन्। स्वास्थ्य क्षेत्रको प्रत्यक्ष अनुभव बोकेकी नेतृले अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेपछि आम नागरिकले उपचार सेवामा सहज पहुँच, गुणस्तरीय अस्पताल व्यवस्थापन, स्वास्थ्य बीमा प्रणालीको प्रभावकारी कार्यान्वयन, औषधि व्यवस्थापन तथा मातृशिशु स्वास्थ्य सुधारमा उल्लेखनीय काम हुने अपेक्षा गरेका छन्।
२०४४ साल साउन २२ गते इनरुवामा जन्मिएकी मेहता पेशाले स्वास्थ्यकर्मीसमेत हुन्। उनले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङ विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्। अध्ययनपछि उनले स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्दै अनुभव सँगालेकी थिइन्। यही व्यावहारिक पृष्ठभूमिले उनलाई मन्त्रालयको नेतृत्वमा पुग्दा नीतिगत निर्णयहरूलाई व्यवहारिक ढंगले अघि बढाउन सहज हुने विश्वास गरिएको छ।
उनको मन्त्री नियुक्तिलाई सुनसरीवासीले गौरवका रूपमा लिएका छन्। विशेषगरी इनरुवाका स्थानीय बासिन्दाले ‘आफ्नै शहरकी छोरी’ मुलुकको महत्वपूर्ण मन्त्रालयको नेतृत्वमा पुग्नु सकारात्मक उपलब्धि भएको प्रतिक्रिया दिएका छन्। स्वास्थ्यकर्मी समुदायले पनि स्वास्थ्य क्षेत्र बुझ्ने र अनुभव भएको नेतृत्वले सेवाग्राहीमुखी नीति ल्याउने अपेक्षा व्यक्त गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार मेहताको नियुक्ति रास्वपाले युवा, शिक्षित र पेशागत अनुभव भएका व्यक्तिलाई जिम्मेवारी दिने नीति अनुसार भएको देखिन्छ। यसले मन्त्रालयमा नयाँ सोच र व्यवस्थापन शैली भित्रिने सम्भावना बढाएको उनीहरूको भनाइ छ।
अब मन्त्री मेहतामाथि देशभरका अस्पतालको सेवा सुधार, स्वास्थ्यकर्मी व्यवस्थापन, सरकारी स्वास्थ्य संस्थामा देखिने अव्यवस्था नियन्त्रण, औषधिको उपलब्धता सुनिश्चित गर्ने तथा जनस्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउने ठूलो जिम्मेवारी आएको छ। जनताले भने उनको कार्यकालबाट स्वास्थ्य क्षेत्रमा ठोस सुधार र परिणाममुखी काम हुने आशा गरेका छन्।













Discussion about this post