पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित केही स्पा सेन्टरमा बालिकालाई काममा लगाएको आरोपमा आठ जना सञ्चालकलाई आइतबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइडका ४७ वर्षीय होमबहादुर बुढाथोकी, २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया अप्रिना खातुन, ४४ वर्षीय राजु थापामगर र पोखरा–१७ का २८ वर्षीय सरोज सुनार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार उनीहरूलाई मापदण्डविपरीत स्पा सेन्टर सञ्चालन गरेको, बालिकालाई कामदारका रूपमा प्रयोग गरेको तथा स्पा सेन्टरभित्र अवाञ्छित क्रियाकलाप गराउने/गर्ने गरेको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीले स्पा सेन्टरबाट बालिकाहरूको उद्धार गरी परिवार तथा आफन्तको जिम्मा लगाइएको जनाएको छ।
पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।











Discussion about this post