सुनसरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका चारवटा निजी सवारी साधन नियन्त्रणमा लिएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले नियमित चेकजाँचका क्रममा चारपाङ्ग्रे चारवटा सवारी साधन नियन्त्रणमा लिएको जानकारी दिएको हो । प्रहरीले विभिन्न मितिमा प्रदेश १–०१–००१ च ९९१२ नम्बरको निजी कार, प्रदेश २–००२ च ४०९८ नम्बरको बोलेरो पिकअप, बा.१३ च ७७६ नम्बरको निजी कार तथा भारतीय नम्बर प्लेटको एसके ०१ प ३०२९ नम्बरको कार नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार कोशी प्रदेशका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा ती सवारी साधनहरूमा शंका लागेपछि कागजात माग गर्दा आवश्यक कागजात नपाइएको थियो । थप जाँच गर्दा सवारी धनीहरूले आफूखुसी नम्बर प्लेट परिवर्तन गरी प्रयोगमा ल्याएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
इटहरी, भोक्राहा नरसिंह गाउँपालिका, बिर्तामोड नगरपालिका र झापाको भद्रपुर नगरपालिकाबाट ती सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनहरूको आरसी बुकमा उल्लेखित इन्जिन र चेसिस नम्बर समेत फरक रहेको पाइएको छ । आवश्यक अनुसन्धानका लागि ती सवारी साधनहरूलाई सेतुबन्ध भन्सार कार्यालय, कोशी ब्यारेजमा बुझाइएको कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले नक्कली नम्बर प्लेट प्रयोग गर्ने कार्यले अपराध नियन्त्रण तथा सवारी पहिचानमा समस्या सिर्जना गर्ने भएकाले सवारी साधनको कागजात र नम्बर प्लेटमा शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।











Discussion about this post