सन्तोष मेहता /विराटनगर । आगोले जलेर मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरमा घरभित्र सुतिरहेका पुरुषको मृत्यु भएको छ । स्थानीय बालकृष्ण गिरीको घरमा गयराति ११ बजेतिर अचानक आगलागी हुँदा सुन्दरहरैँचा–११ का ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार काठ र इँटा प्रयोग गरेर बनाइएको तथा टिनको छानो भएको दुई तले घरमा आगलागी भएको हो । घरमा पेन्टिङ(रङ्ग लगाउने)को काम गर्ने मजदुर रहनु भएका मृतक श्रेष्ठ तीन दिनदेखि गिरीको घरमा बस्दै आएको खुलेको छ । श्रेष्ठ प्रष्टसँग बोल्न र सुन्न सक्नु हुन्न थियो । गिरीकै घरमा बसेर उहाँले बनाएको नयाँ घरमा रङ्ग लगाउने काम गर्दै आउनु भएका श्रेष्ठको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । सुतिरहेका बेला घरमा आगलागी भएपछि बाहिर निस्कन नसक्दा घरभित्रै जलेर मृत्यु भएको जानकारी डिएसपी श्रेष्ठले दिनु भयो । शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । आगोले गिरीको पुरानो घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, नगद लगायत घरयासी सामान सबै जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा गएको टोलीले दमकल र स्थानीयको सहयोगमा आज बिहानका राति २ बजेतिर आगो नियन्त्रणमा लिएको हो । आगो नियन्त्रणका लागि विराटनगर, इटहरी, सुन्दरहरैँचा र बेलबारीबाट चारवटा दमकल घटनास्थल पुगेका थिए । आगोले घरसहित सबै सामान जलेर ध्वस्त भए पनि घर परिषरमै रहेको काठमिलमा भने कुनै क्षति नपुगेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशङ्का प्रहरीको छ । घटनामा २२ लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । यद्यपि क्षतिको विवरण सङ्कलनको काम जारी रहेको डिएसपी श्रेष्ठले बताउनु भयो ।
Discussion about this post