इनरुवा — सुनसरीको सदरमुकाम इनरुवामा रहेका मेडिकलहरूको अनुगमन गर्न पुगेको टोलीलाई मेडिकल व्यवसायीहरूले अवरोध गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृतको टोलीलाई स्थानीय मेडिकल व्यवसायीहरूको टोलीले अवरोध गरेका हुन् ।
अनुगमनका क्रममा कागज पत्र जाँच गर्ने क्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न गएको टोलीलाई मेडिकल हलभित्रै थुन्ने प्रयास गरेका थिए ।
मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्लोसिसस मेडिकल हलमा अनुगमन गर्ने क्रममा अवरोध गरेको इनरुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट देवराज घिमिरेले बताए । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडा, स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईं, जिल्ला अस्पताल इनरुवाका मेसु घिमिरेलगायत टोलीलाई अवरोध गरेपछि उनीहरू अहिले जिल्ला प्रशासन कार्यलयमा छलफलका लागि गएका छन् । मेडिकल व्यवसायीहरूले इनरुवा बजार स्थित अस्पताल चोकमा नाराबाजी गरिरहेका छन् ।
अनुगमन टोलीले इनरुवा नगरपालिकाका उपमेयर विनिता मेहताको मेडिकलमा समेत जाँच गरेको थियो । जाँचको क्रममा उपमेयरका श्रीमान् योगेन्द्र मेहतासँग विवाद भएको थियो । विवादपछि अर्को मेडिकलमा अनुगमन गर्न गएका बेला उपमेयरका श्रीमान् योगेन्द्रको नेतृत्वमा अनुगमन टोलीलाई दुव्र्यवहार गर्नुका साथै अवरोध गरेको मेसु घिमिरेले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईं सहितका संयुक्त अनुगमन टाेलीले गरेको अनुगमनमा तनाव उत्पन्न भएको छ ।
उता स्वास्थ्य कार्यालयका प्रमुख प्रसाईंले आफुखुशी अनुगमन गर्न खाेजेकाे कारण विवाद श्रृजना भएको इनरूवाका फार्मेसी सञ्चालकहरूकाे भनाइ रहेको छ ।इनरूवाका फार्मेसी सञ्चालकहरूले देवराज बाहिर आउ, अनुगमन गर्ने अधिकार कसले दियाे हामीलाई देखाउ, तिम्रो गुण्डागर्दी चल्दैन, तिमी अस्पतालमा ध्यान देउ” भन्ने नारा लगाउदै बिराट पाेलिकिल्निकमा संयुक्त अनुगमन टाेलीले अनुगमन गर्ने समयमा उनीहरूलाई घेराबन्दी बनाएका थिए ।
Discussion about this post