इनरुवा । संविधान दिवसको अवसरमा कारागार कार्यालय झुम्का, सुनसरीका ४४ जना कैदीले कैद सजाय माफी पाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको हाे ।
उनले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिस अनुसार यही असोज ३ गतेदेखि लागू हुने गरी माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले देशभरिका ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेकोमा त्यसमध्ये झुम्का कारागार सुनसरीका ४४ जना परेका हुन् ।
झुम्का कारागार सुनसरीका अनुसार कर्तव्य ज्यान-२२ जना, सवारी ज्यान- १४ जना ,ज्यान मार्ने उद्योग-४ जना , चोरी -२ जना र बहुविवाह-२ गरी जम्मा -४४(चौवालिस) जना कैदीहरुको बाँकी कैद कट्टा भएको जानकारी दिए ।
उता कोशी प्रदेशका १८० जना कैदीले कैद सजाय माफी पाएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदको सजाय माफी गरेका थिए ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुनेगरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन् ।
Discussion about this post