इनरुवा । नेपाल सरकारले गामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि जेष्ठ नागरिक सास्तीमा परेका छन ।
भत्ता नपाइने डरले राष्ट्रिय परिचयपत्र बनाउन एकाबिहानै प्रशासन कार्यालय पुग्नु पर्ने बाध्यताका कारण जेष्ठ नागरिक धप मार्कामा परेका छन ।
राहदानी बनाउन र नविकरणका लागि अनिवार्य रहेको राष्ट्रिय परिचयपत्र सामाजिक सुरक्षा भत्तामा समेत लागु गरिने भएपछि त्यसको प्रत्यक्ष मार जेष्ठ नागरिकले भोग्नु परेको छ ।
राष्ट्रिय परिचयपत्र बनाउनेको भीड यसैपनि प्रशासनमा बाक्लो हुने गर्छ । सुनसरी प्रशासनको हकमा दैनिक १ सय ३० वटासम्म टोकन बाँडेर सेवा दिने गरिएको छ ।
परिचयपत्र लिन चाहनेको भीडमा बाध्यतामा परी सेवा लिन पुग्ने जेष्ठ नागरिकहरु पालो नपाउने, टोकन लिन नसक्दा दिनहुँजसो कार्यालय धाउनु पर्ने र लामो समय उभिएर पालो पर्खनु पर्ने जस्ता समस्याबाट गुज्रिन बाध्य छन ।
राष्ट्रिय परिचयपत्र बनाउन समेत समय लाग्ने हुँदा पालो समेत निकै पर्खनु पर्ने हुन्छ । जसका कारण असहाय, अशक्त र बिरामी वृद्धवृद्धा बढी मारमा परेका छन ।
जसलाई जेष्ठ नागरिकहरुले सेवा लिन धाउदा असहज भएको प्रतिकृया दिएका छन । छोटो समय दिएर एक्कासी लागु गरिएको सरकारी नियम अव्यवहारिक रहेको उनीहरुको बुझाई छ ।
इटहरी घर भएकी वृद्धा लक्ष्मी खतिवडाले भनिन्, ‘टोकन बिहानै सकिदो रैछ । हामी बुढाबुढी रातीनै आउन सक्दैनौ । छोराछोरी आआफ्ना काममा हुन्छन । एक्लै कसरी रातीनै आएर लाइन लाग्नु अनि फोटो खिचाउनु । समस्या भो । वडामै सेवा दिने व्यवस्था मिलाइदिनु पर्याे । ’
जेष्ठ नागरिक (६८ वर्ष माथिका) अधिकांश कुनै न कुनै शारीरिक अस्वस्थता र अशक्तता बाट गुज्रिने गरेको यथार्थ बुझेको प्रशासन कार्यालय वृद्धवृद्धाको गुनासो समाधानमा भने असमर्थ देखिएको छ ।
प्रशासन कर्मचारी सरकारको निर्देशन बमोजिम काम गर्नु पर्ने बाध्यता रहेको बताउँछन । राष्ट्रिय परिचयपत्र बनाउन यसअघि बाट नै पर्याप्त स्रोत र जनशक्ति अभाव रहेको उनीहरुको भनाई छ ।
सामाजिक सुरक्षा भत्ता र पेन्सनका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्रले लोड बढाएको बताउने सुनसरी प्रशासन स्रोत साधनको अभावमा सेवालाई सहज बनाउन र विस्तार गर्न सकिने अवस्थामा नरहेको जनाउँछ ।
प्रशासनले सेवा लिन आउने जेष्ठ नागरिक, अपाङ्ग,असहाय र अशक्त लगायतका लाभग्राहीको हकमा प्राथमिकतामा राखी राष्ट्रिय परिचयपत्र बनाइदिने काम गरिदिने गरेको जनाएको छ ।
Discussion about this post