दिपेन्द्र यादव/सुनसरी – सुनसरीको गढी गाउँपालिका कार्यालय औरावनीको सहयोग तथा भुमिका कृषि सहकारी संस्था लिमिटेड औरावनीको आयोजनामा मंगलबार एक कार्यक्रमअन्तर्गत कृषि सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीको प्रमुख आतिथ्यता र कृषि विकास अधिकृत जिन्नी चौधरीको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रममा सहकारीमा आवद्व किसानहरूलाई विभिन्न कृषि सामग्रीहरू वितरण गरिएकाे थियोे । कार्यक्रममा प्रमुख अतिथि आशनारायण चौधरीले कृषि सामग्री वितरणको उद्देश्यबारे बोल्दै, यस कदमले स्थानीय किसानहरूको उत्पादन क्षमता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय कृषकहरूको जीवनस्तर सुधार गर्न गाउँपालिकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनुभयो। विशिष्ट अतिथि जिन्नी चौधरीले कृषि विकासका लागि आवश्यक ज्ञान र स्रोतहरूको पहुँच वृद्धि गर्न सहकारीको योगदानलाई महत्वपूर्ण मान्दै, भविष्यमा पनि सहकारीले यस्ता कार्यक्रमहरू आयोजना गर्दै कृषकहरूको समृद्धिमा सहयोग पुर्याउने आशा व्यक्त गर्नुभयो।कार्यक्रममा सहभागी किसानहरूले वितरण गरिएको सामग्रीप्रति खुशी व्यक्त गर्दै, यसले उनीहरूको कृषि कार्यमा ठूलो सहयोग पुर्याउने बताउनुभयो। साथै, स्थानीय कृषकहरूले गाउँपालिकाको यस प्रकारको सहयोग र सहकार्यलाई निरन्तरता दिन अनुरोध गरेका छन्।यस अवसरमा विभिन्न कृषि सामग्रीहरू जस्तै त्रिपाल, मकै छुटाउन प्रयाेग हुने मिनि थ्रेसर, जिंक र इलेक्ट्रोनिक पावर स्प्रेयर लगायतका कृषि उपकरणहरू वितरण गरिएको थियो। कार्यक्रमको अन्त्यमा सहकारीका अध्यक्षले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि सहकारीले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
Discussion about this post