दिपेन्द्र यादव/इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाका अधिकाँश गाउँका धुलौटे बाटोहरु धमाधम कालोपत्रे सडक बन्न थालेपछि गाउँमा खुशीयाली छाएको छ। विकास निर्माणका काममा भोक्राहा नरसिंह गाउँपालिका “जनप्रेमी” अध्यक्ष अजमल अख्तर आजाद र “विकासप्रेमी” प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरेकाे सकृयताका कारण यतिबेला गाउँमा धुलौटे बाटो मापदण्ड अनुसारका कालोपत्रे सडक बन्न थालेका छन्। लामो समयदेखि निर्माण हुन नसकेका सडकहरुलाई स्तरउन्नती गर्दै गाउँपालिकाले कालोपत्रे बनाउने लक्ष्य लिएसँगै अहिले धमाधम सडक कालोपत्रे निर्माणका प्रक्रिया अघि बढाउन थालेका छन्।
भोक्राहा नरसिंह गाउँपालिकाका मुख्य व्यस्त बाटोहरुलाई प्राथमिकताका साथ कालोपत्रेको काम गरी निरन्तरता दिइएको “विकासप्रेमी” प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिएका हुन्। उहाँका अनुसार यस आर्थिक वर्ष २०८०/८१ भित्र टेन्डर भई भाेक्राहा नरसिंह गाउँपालिकामा झन्डै १४.३ किलोमिटर बाटो कालोपत्रे निर्माणका लागि वेश, सव-वेश र ठाउँ – ठाउँमा कलभर्ट निर्माण लगायतका विभिन्न चरणहरूकाे काम सम्पन्न भइसकेको बताउँछन्।
यता प्रमुख सडक निर्माण योजना अन्तरगत भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४, २ र १ जाेड्ने चिराैली चाैकदेखी प्रकाशपुर ७ किलोमिटर, वडा नम्बरमा बाबा पेपर मिलदेखी इनरूवा १० जल्पापुरकाे झुल्ङे पुल जाेड्ने करिव १.५ किलोमिटर रहेको याेजना शाखाका रामचन्द्र यादवले बताएका छन् । त्यस्तै भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ , ६ र ७ जाेड्ने बाटाे करिव १.५ किलोमिटर, वडा नम्बर ६ कै रहमान टाेलकाे बाटाे ११ सय मिटर, वडा नम्बर ८ स्थित हुलाकी राजमार्ग देखि भारत बसमतिया जाेड्ने बाटाे ४ किलोमिटर, वडा नम्बर ८ कै अर्के याेजना रामजानकी मन्दिर साह टाेल, प्रहरी चाैकी हुदै भारतकाे बिहार सम्म जाेड्ने बाटाे कालाेपत्रे सम्पन्न भइसकेको उहाँले बताउनुभयाे । साे मध्ये निर्माण काम सम्पन्न नभएको बाटामा धमाधम वेश, सव वेश र कलभर्ट निर्माणको काम सम्पन्न भइरहेको छ ।भोक्राहा नरसिंह गाउँपालिकाले नेपालको सडक निर्माण ऐन २०३१ अनुसार, सडक निर्माण र मर्मत सम्भारका कार्यहरू कानुनी प्रक्रिया तथा प्रावधानहरूको पूर्णपालना गर्दै सडक निर्माण कार्यहरूलाई अघि बढाइरहेको छ। निर्माण सामग्रीको गुणस्तर, मापदण्डको पालना र निर्माणकार्यको निरन्तर अनुगमनले गर्दा गाउँपालिकामा निर्माण कार्यको गति तिब्र भएको छ। साथै, सडक निर्माणको काममा भ्रष्टाचार र अनियमितताको निगरानी गर्ने स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गरेको छ।
भोक्राहा नरसिंह गाउँपालिकामा धमाधम भइरहेको सडक निर्माण कार्यले गाउँको परिवेशमा सकारात्मक परिवर्तन ल्याएको छ। “जनप्रेमी” अध्यक्ष अजमल अख्तर आजाद र “विकासप्रेमी” प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेको नेतृत्वमा गाउँपालिकाले विकासको मार्गमा ठोस कदम चालेको स्थानीयवासी बताउँछन् ।
Discussion about this post