इनरुवा । सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार भोक्राहा नरसिंह गाउँपालिका–१ की अन्दाजी ४२ वर्षीया सैफूल खातुनको शव इनरुवा–३ स्थित नग्न अवस्थामा शुक्रबार दिउँसो फेला परेको हो।
डीएसपी भण्डारीले घटनाको शंकास्पद भएको भन्दै अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत मगाइएको जानकारी दिए। उनले भने, “शव पोस्टमार्टमका लागि पठाएका छौँ। रिपोर्ट नआइकन घटनाको कारण पत्ता लागेको छैन।”
प्रहरीका अनुसार मृतकका परिवारको भनाइमा ती महिला मानसिक रोगी जस्तो देखिन्थिन्। मृतकका भाइका अनुसार उनी मानसिक रोगबाट पीडित थिइन्। डीएसपी भण्डारीले थपे, “घटना शंकास्पद भएपनि अनुसन्धान नभई यसै भन्न सकिन्न।”
मृतक महिलाको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको छ। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले महिलाको नग्न अवस्थामा शव फेला पारेपछि घटनाको शंका गर्दै अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाएको थियो।
हालसम्म घटनामा संलग्नको पहिचान हुन नसकेका कारण प्रारम्भिक अनुसन्धान शुरू गरिएको प्रहरीको भनाइ छ।
Discussion about this post