दिपेन्द्र यादव/ सुनसरी – गोली हानेर मारिएको बँदेलसहित पक्राउ परेका पूर्व डिआइजीसहित १० जनालाई सप्तरी प्रहरीले कानुनी प्रक्रिया पूरा गरी जमानीमा रिहा गरेको छ।
सप्तरी जिल्लामा को २ त ६९ नम्बरको ट्याक्टरमा मृत बँदेल फेला परेपछि प्रहरीले त्यसलाई बेवारिसे अवस्थामा मुचुल्का तयार गरी सवडिभिजन वन कार्यालय कञ्चनपुर पठाएको थियो। वन डिभिजन कार्यालय सप्तरीका प्रमुख (डिएफओ) शुभाष यादवले ट्याक्टर र बँदेलको मुचुल्का बनाई सब डिभिजनमा बुझाइएको जानकारी दिए।
बुधबार राति हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी पलार क्षेत्रबाट अवैध रुपमा बँदेल मारेर ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्र नेतृत्वको टोलीले १० जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूमा नेपाल प्रहरीका पूर्व डिआइजी ज्ञानविक्रम शाह, बहालवाला सई सञ्जय न्यौपाने, आकाश बहरखेर यादव, लक्ष्मण मण्डल, जनार्दन राउत, प्रदीप लिम्बु, रविन दास, ओमशंकर प्रसैला, र शंकर खिडहरी यादव रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट २२ क्यालीबरको राइफल, म्यागजिन, १५ राउण्ड गोली, वाइनाकुलर, ट्राइपोर्ट, फलामको हथौडा, र खुर्पा बरामद गरेको छ। उक्त राइफल पूर्व डिआइजी शाहको नाममा दर्ता भएको जानकारी दिँदै सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले यसको प्रयोगबारे थप अनुसन्धान भइरहेको बताएका छन्।
नेपालको प्रचलित कानुन अनुसार, पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक प्रारम्भिक अनुसन्धान पश्चात् कानुनी प्रकृया पूरा गरी बिहीबार राति जमानीमा रिहा गरिएको हो।
नेपालको वन ऐन, २०७६ अनुसार, संरक्षित जनावरहरूको शिकार, ढुवानी, वा व्यापार गर्नेलाई कडा सजायको प्रावधान छ, जसमा जरिवाना र जेल सजाय दुवै हुन सक्छ। यस घटनामा संलग्न व्यक्तिहरूले कानून अनुसार आवश्यक कानुनी प्रक्रियाहरू पूरा गर्नुपर्नेछ।
वन ऐनको उल्लंघन गर्ने व्यक्तिहरूलाई नेपालका कानुनहरूले कडा सजायको व्यवस्था गरेकोले, यस घटनामा पनि दोषी प्रमाणित भएमा सम्बन्धित व्यक्तिहरूलाई कानुनी कारबाही हुने वन डिभिजन कार्यालय सप्तरीका प्रमुख (डिएफओ) यादवले बताए ।
Discussion about this post