काठमाडौं — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न नसक्ने धारणा राखेका छन्। शनिबार जनकपुरधाममा आयोजित जसपा, नेपालको आधार संगठन निर्माण अभियानअन्तर्गतको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाए।
अध्यक्ष यादवले बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस र कम्युनिष्टले संयुक्तरूपमा देश सञ्चालन गरेको स्मरण गराउँदै त्यस अवधिमा विकासका हरेक सूचकहरु ध्वस्त हुनुमा यी दुई पार्टीहरू नै दोषी रहेको बताए। उनले शिक्षा, कृषि, र औद्योगिकीकरण लगायतका क्षेत्रमा सरकारको असफलताले गर्दा देश कमजोर बन्दै गएको धारणा व्यक्त गरे।
उनले भने, “कांग्रेस र कम्युनिष्टहरूको शासनकालमा देशको शैक्षिक स्तर खस्किएको छ। किसानहरू आफ्नो पेशाबाट पलायन भई वैदेशिक रोजगारतर्फ आकर्षित भएका छन्। लाखौँ नेपाली नागरिकलाई रोजगार प्रदान गर्ने उद्योगहरू तहसनहस भएका छन्। अझै पनि दलित समुदाय, महिला, आदिवासी, जनजाति, मुस्लिम, थारु समुदायले न्याय पाउन सकेका छैनन्। यी वर्गहरू अझै पनि राज्यबाट अपहेलित र अपमानित छन्।”
अध्यक्ष यादवले वर्तमान समयमा मुलुकमा कमिसनतन्त्र, लुटतन्त्र, र भ्रष्टाचारको विकराल स्थितिले जरो गाडेको बताउँदै यसमा नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा (माओवादी केन्द्र) को ठुलो भूमिका रहेको आरोप लगाए। साथै, उनले साना दलहरूको अस्तित्व समाप्त गर्न देशमा समानुपातिक प्रणाली हटाउने षड्यन्त्र भइरहेको पनि उल्लेख गरे।
Discussion about this post