काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले आफूले पदबाट राजीनामा नदिएको स्पष्ट पारेका छन्। सचिव भट्टराईले स्वास्थ्य लाइभसँग कुरा गर्दै, राजीनामा दिएको ुभन्ने समाचारमा कुनै सत्यता नरहेको बताए।
मुख्यसचिवको बढुवामा असन्तुष्टि जनाउँदै सचिव भट्टराईले राजीनामा दिएको समाचार बाहिर आएपछि उनले आफ्नो पदबाट राजीनामा नदिएको प्रष्ट पारे। “मैले राजीनामा दिएको छैन, राजीनामा नै नदिएपछि स्वीकृति हुने कुरा भएन,” सचिव भट्टराईले भने। उनले मन्त्रिपरिषद्को बैठक नै नबसी राजीनामा स्वीकृत भयो भनेर फैलिएको अफवाहको खण्डन गरे।
यसअघि, वरिष्ठ सचिवहरुलाई पन्छ्याउँदै पाँचौ बरियतामा रहेका गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि तेस्रो बरियतामा रहेका सचिव भट्टराईले राजीनामा दिएको भनेर सार्वजनिक भएको थियो। तर, उनले यो समाचारलाई असत्य भने।
मुख्यसचिवको बढुवामा असन्तुष्टि जनाउँदै राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले भने राजीनामा दिइसकेको र उनको राजीनामा स्वीकृत भइसकेको जानकारी प्राप्त भएको छ। सचिव ज्ञवालीसँग राजीनामा दिएपछि प्रतिक्रिया लिन खोज्दा उनी बोल्न चाहेनन्। सचिव भट्टराईले भने आफूले राजीनामा दिने कुनै सोच समेत नराखेको स्पष्ट पारेका छन्।
Discussion about this post