दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ मा बाढी प्रभावित परिवारहरूको लागि तत्काल राहत सामग्री वितरण गरिएको छ। भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ मा अवस्थित मदरसा तालिमुल कुरआन र सि-म्याक्स फ्याक्ट्री अगाडि रहेको सुनसरी खाेला तटबन्ध क्षेत्रमा बाढी पीडितहरूको लागि सहयोग स्वरूप सामूहिक मेष सञ्चालन गर्न आवश्यक सामग्री पठाइएको हो।
गाउँपालिकाले वितरण गरेको राहत सामग्रीमा ५ बोरा चामल, ५ केजी दाल, ५ केजी खाने तेल, ५ केजी नुन, र १० कार्टुन पानी सामेल छन्। साथै, तत्काल ५० घरपरिवारलाई ५० थान त्रिपाल, १ बोरा भुजा, १ कार्टुन चाउचाउ, २ केजी नुन, र १ कार्टुन पानी समेत वितरण गरिएको छ। वडा नम्बर ३ मा रहेका १ सय घरपरिवारलाई पनि सोही अनुपातमा राहत सामग्री वितरण गरिएको जानकारी प्राप्त भएको छ।
भाेक्राहा नरसिंह गाउँपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन हिरा साहका अनुसार, बाढीको कारण वडा नम्बर ७ का प्रभावित क्षेत्रमा समेत राहत सामग्री पठाउने तयारी भइरहेको छ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले बाढीको कारण उत्पन्न संकटमा परेको जनतालाई तत्काल सहयोग पुर्याउनु अहिलेको प्राथमिकता भएको बताएका छन्। अध्यक्ष आजादका अनुसार, “बाढीले जनधनको ठूलो क्षति पुर्याएको छ, र गाउँपालिकाले यसमा आवश्यक सहयोग जुटाउन सम्पूर्ण शक्ति लगाइरहेको छ। हामी सबै प्रभावित परिवारलाई यथाशीघ्र राहत पुर्याउन प्रतिवद्ध छौं।”
अध्यक्ष आजादले थप जानकारी दिँदै भने, “गाउँपालिकाले अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै बाढी प्रभावितहरूको जीवनलाई पुनःस्थापित गर्न आवश्यक थप राहत सामग्री वितरणको तयारी गरिरहेको छ।”
राहत कार्यको प्रभावकारिता सुनिश्चित गर्न गाउँपालिकाले स्थानिय जनप्रतिनिधि, स्थानीय प्रशासन, र सरोकारवाला संघसंस्थासँग निरन्तर समन्वय गरिरहेको छ। बाढी पीडितहरूको जीवन सामान्य बनाउनेतर्फ गाउँपालिकाले अत्यन्त गम्भीर रुपमा कदम चालिरहेको छ।
Discussion about this post